काठमाडौं := नेपाल सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसियाका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुनअनुसार पुनः सुरु गर्ने मन्त्रिस्तरीय निर्णय गर्नुभएको हो ।
मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकूल नहुने गरी नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको छ ।
कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरू जान पाएका थिएनन् । मलेसियाले विदेशी कामदार लिन सुरु गरेको र सोहीअनुसार मागपत्र नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएकाले श्रम स्वीकृति खुला गरिएको मन्त्रालयले जनाएको छ ।




















