एजेन्सी := रुसले युक्रेनमा आक्रमण शुरु गरेको १७ औँ दिनमा युद्ध तीव्र बनाएको छ । यस क्रममा दर्जनौँ शहरहरु रुसी सेनाले कब्जा गरेको छ । राजधानी किभ नजिक पुगिसकेको रुसी फौजले मेरियापोलमा बम बर्षाउदा ठूलो संख्यामा नागरिकहरुको हताहती भएको बताईएको छ ।
युद्धको त्रासदीका कारण २५ लाख बढी नागरिकहरु विस्थापित भएर पोल्याण्ड सहित युरोपका विभिन्न देशमा पुगिसकेका छन्। यो क्रम अझै जारी छ ।यसैबीच रुसी रक्षा मन्त्रालयले एक विज्ञपित जारी गरी युक्रेनमा बिशेष सैन्य अभियानका क्रममा ३४९१ सैन्य संरचना ध्वस्त पारिएको दाबी गरेको छ ।
विज्ञप्तिका अनुसार १२३ युक्रेनी एरियल भेईकल, ११२७ टैंक सहित एन्टी एयर क्राफ्ट सिस्टम , राडार स्टेसन लगायतलाई ध्वस्त बनाईएको छ । यस क्रममा हजारौँ सेनाको मृत्यु भएको आंकलन गरिए पनि दुबै देशले आ आफ्नो सेनामा कति क्षति भएको एकीन गरेका छैनन् ।
रुसी सेनाले पछिल्लो समय आक्रमण तीव्र पार्नुका साथै किभलाई नजिकबाट तीन तिरबाट घेरा हालेको छ । किभमा युक्रेनले पनि किल्लाहरु बनाउदै रुसी सेनाको प्रतिरोध गरीरहेको छ । यो युद्ध अझै केही दिन लम्विन सक्ने देखिएको छ ।




















