काठमाडौं := नेपाललाई कृषि प्रधान देश भनिन्छ । यहाँ हरेक कृषिजन्य उत्पादन हुने अनुकुल जमिन र जलस्रोत छ । तर पनि पछिल्लो समय नेपाल कृषि उपजमा पनि ठूलो परिणाममा आयातमा निर्भर हुन थालेको देखिएको छ ।
पछिल्लो आर्थिक विवरण अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा रु. १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ ।
सो अवधिमा बङ्गलादेशबाट रु १४ हजार मूल्य बराबरका १६ केजी र भारतबाट रु तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न जातका धानका बीउ आयात भएको छ ।
केही वर्षदेखि लगातार चामल, धान र धानका बीउको आयात बढ्दै गएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ४२ करोड ५२ लाख ५७ हजार ७९१ केजी चामल बनाउन हुने धानको आयात भएको भन्सार विभागले जनाएको छ ।




















