प्रकाश सपुतको ‘पिर’ गीतप्रति माओवादी नेताहरूले जनाए आपत्ति।

काठमाडौं:= कलाकार प्रकाश सपुतको नयाँ गीत ‘पिर’ विवादमा तानिएको छ । गीतप्रति सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरूले आपत्ति जनाएका छन् । माओवादीद्वारा सञ्चालित सशस्त्र युद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित उक्त गीत १६ मिनेट २५ सेकेण्डको छ । जसको नौ मिनेटको आसपासमा एक महिला छापामार गरिबीका कारण देहव्यापारमा संलग्न भएको दृश्य छ ।

यसले मुक्तिका लागि लडेका योद्धा महिलाको अपमान गरेको भन्दै एकपछि अर्का माओवादी नेताले युट्युबबाट सो गीतको भिडियो तत्काल हटाउन माग गरेका हुन् । माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिाखा’ले पिर गीतको विरोध गर्नुभएको हो ।

‘माओवादी सशस्त्र युद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले ‘देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन्। त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ’, दीपशिखाले सामाजिक सञ्जालमा लेख्नुभएको छ। उहाँले सर्जक सपुतलाई प्रश्न पनि गर्नुभएको छ । अभाव, निराश अनि गरिब महिलाहरूले देहव्यापार नै गर्छन् हो ?’ ती महिलाले नलडेको भए आज सपुतहरूले स्वतन्त्र रूपमा गीत गाउन नपाउने कुरा दीपशिाखाले स्मरण गराउनुभएको छ ।

प्रकाश सपुतले पहिलो पटक विशुद्ध राजनीतिक विषयवस्तुको उठान गर्नुभएको हो । यद्यपि, गीतका शब्दहरू भने राजनीतिक छैनन्, भिडियोले बोल्ने कथामा माओवादी सशस्त्र युद्धलाई विषयवस्तु बनाइएको छ । सशस्त्र युद्धका पूर्वलडाकुहरू आज कस्तो जीवन बाँचिरहेका छन् भन्ने अँध्यारो पाटोलाई गीतले प्रस्तुत गरेको छ ।

एक महिला लडाकु अहिले देहव्यापारमा संलग्न भएको देखाइँदा माओवादी पंतिले असन्तुष्टि जनाएका हुन् । कतिपयले गीतलाई युट्युबबाटै हटाउन समेत माग गरेका छन् । देहव्यापारको ठाउँमा अरू कुनै पेशा देखाइएको भए विवाद नउब्जिन सक्थ्यो ।

चुनावका मुखमा माओवादी देह व्यापार युद्धलाई नकारात्मक चित्रण गर्ने गीत आउँदा जनमत प्रभावित बन्ने त होइन भन्ने चिन्ता पार्टी पंतिमा देखिएको छ । यो विषयमा गायक सपुतले भने आफ्ना भनाई राख्नुभएको छैन । उहाँले सामाजिक सञ्जालमा कुनै प्रतिक्रिया जनाउनुभएको देखिँदैन ।

तर, गीत सार्वजनिक अघि नै केही फरक गीत भन्दै जनाउनु भएको थियो । उहाँले लेख्नुभएको थियो, ‘अडियोमा केही पृथक शैलीको लोक लय समाएको छु । भिडियोमा चाहिँ केही त्यस्ता पात्रहरू समेटिएका छन् जसले ज्यानको बाजी थापेर देशलाई नयाँ व्यवस्था दिए र बन्दुक त बिसाए तर आफ्नै पिर बिसाउन भने पाएनन् ।’

डा. बाबुराम भट्टराईको समर्थन

गीतको भिडियोले सशस्त्र युद्ध लडेका महिलाको अपमान गरेको भन्दै नेकपा माओवादी केन्द्रका नेताहरूले गम्भीर आपत्ति जनाइरहेका बेला सशस्त्र युद्धकै एक शीर्ष नेता डा. बाबुराम भट्टराईले भने समर्थन गर्नुभएको छ ।

हाल जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. भट्टराईले आफू पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार रहेको उल्लेख गर्दै गीतमा आपत्तिजनक कुरा नरहेको प्रतिक्रिया दिनुभएको हो ।

उहाँले ट्विट गर्दै भन्नुभएको छ, ‘म पनि सशस्त्र युद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु, त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले सशस्त्र युद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्क्याउने ?’