म्याग्दीको तातोपानी कुण्डमा दैनिक ३ सय बढी विरामीको उपचार हुँदै।

म्याग्दी:= प्राकृतिक चिकित्सालयको रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका ४ स्थित तातोपानी कुण्डमा दैनिक तीनसय बढी बिरामीहरु डुवेर उपचार सेवा लिइरहेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम भएपछि तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दै जान थालेको हो ।

कोरोनाको जोखिमका कारण यसअघि बन्द गरिएको तातोपानी कुण्ड संक्रमण घट्दै गएपछि यही फागुन महिनाको पहिलो सातादेखि सर्वसाधारण तथा बिरामीका लागि पुनः खुला गरिएको थियो । कोरोना संक्रमणको जोखिम कम हदै र जाडो पनि घट्दै गएपछि विरामीहरु तातोपानीमा आइरहेका तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले कुण्डमा दैनिक महिला २ सयजना र पुरुष १ सय जनाले नियमित स्नान गरिरहेका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्नेगरी कुण्डमा नुहाउनका लागि बिरामीहरुलाई अनुमति दिइएको अध्यक्ष शाक्यले बताए। तातोपानी कुण्डमा नुहाउने बिरामीहरुको सङ्ख्या अत्यधिक बढेपछि महिला र पुरुषको छुट्टाछुट्टै नुहाउने समय तालिका बनाइएको छ ।

हरेक दिन बिहान ६ देखि बेलुका साढे ४ बजेसम्म दुई–दुई घण्टाका दरले महिला र पुरुषले नुहाउने समय तालिका लागू गरिएको छ ।मुख्य कुण्डभन्दा बाहिरका २ वटा पोखरीमा भने साँझ ५ देखि ९ बजेसम्म पनि नुहाउने व्यवस्था गरिएको कुण्डले जनाएको छ । अहिले पुरुषको तुलनामा महिलाहरु धेरै सङ्ख्यामा आएपछि उनीहरुलाई पनि २ चरणमा नुहाउने गरी समयको तालिका बनाइएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यले जानकारी दिए ।

अहिले तातोपानी कुण्डमा विदेशी नागरिकसहित म्याग्दी, बागलुङ, पर्वत, कास्की र गुल्मी जिल्लाबाट आएका बिरामीहरुले दैनिकजसो स्नान गरिरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा आउने अधिकांश बिरामीहरु एक हप्तासम्म तातोपानीमै बसेर नुहाउने गर्दछन् । कुण्डभित्र मुख्य पोखरीमा नुहाउनका लागि प्रतिव्यक्ति तीनसय ५० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ भने कुण्ड बाहिरको पोखरीमा नुहाउन प्रतिव्यक्ति एकसय रुपैयाँको टिकट लिनुपर्छ।

एकपटक टिकट लिएपछि कुण्डभित्र ७ दिन र बाहिरको पोखरीमा २ घण्टाको समयसम्म मज्जाले स्नान गर्न पाइन्छ । जमिन मुनिबाट ४८ डिग्री सेन्टीग्रेटको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्किएको, मर्किएको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबैखाले रोगहरु निको हुने जनविश्वास रहिआएको छ । तातोपानी कुण्डमा मुख्य पोखरीसहित बाहिरका दुईवटा पोखरी, तीनवटा बाथटप र धारामा नुहाउन पाइन्छ ।