काठमाडौं := ११ औं ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०७८’ सकिएको छ । शनिबार र आइतबार भर्चुअल रूपमा आयोजना भएको महोत्सव आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपको रहेको थियो । विगतका वर्षमा भौतिक रूपमा आयोजना हुँदै आएको महोत्सव यो पटक कोरोनाको कारण भर्चुअल आयोजना भएको महोत्सवका कार्यक्रम संयोजक जोगेन्द्र केसीले बताउनुभयो ।
यो पटक महोत्सवमा इस्टोनिया, मेक्सिको, बंगलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरिया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरू, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, इजरायल, रोमानिया, सरबिया, सिङ्गापुर, स्लोभाकिया, साउथ अफ्रिका, स्पेन, ताइवान, तान्जेनिया, जिम्वाबे र नेपालसहित २४ बढी राष्ट्रको सहभागिता रहेको थियो । यसपटक नेपालको भने पश्चिम तराईका थारू जातीले नाच्ने मगौटा नाच, गण्डकी प्रदेशका गुरुङ मगरहरूले नाच्ने कौडा नाच, उपत्यकामा रहेको परापूर्वकालदेखि चलिआएको भैरव, काली र लाखे, नेवार जातिले धिमे नृत्य र कला संस्कृति नेपालबाट सहभागी भएका थिए ।
लोकसांस्कृतिक, धुन, नृत्य र गीतलगायत विभिन्न पक्षको विकास, विस्तार र जगेर्ना गर्ने गराउने रहेको बताइएको छ । महोत्सव समापन कार्यक्रममा नृत्य निर्देशक तथा महोत्सव संयोजक जोगेन्द्र केसी र पुराना कलाकार शम्भु शाही सम्मानित हुनुभएको थियो । वर्तमान युवा पिँढी आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा संस्कृति प्रवद्र्धनका निम्ति महोत्सव आयोजना भएको हो ।




















