विश्व बजारमा कच्चा तेलको मूल्य १३ वर्षयताकै उच्च।

एजेन्सी:= विश्व बजारमा कच्चा तेलको मूल्य पछिल्लो १३ वर्षयताकै उच्च भएको छ । अमेरिकाले रूसबाट हुने इन्धनको आयात रोक्ने सम्बन्धमा छलफल गरिरहेको बताएपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढेको हो ।

कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ अमेरिकी डलर पुगेर १३० डलरमा आइ स्थिर भएको एजेन्सीले जनाएका छन् । सन् २००८ को जुलाई यता तेलको मूल्य यो तहमा पुगेको पहिलोपटक हो ।

यसैबीच, रूस र युक्रेनको युद्धका कारण मध्यपूर्वी तथा उत्तरी अफ्रिकाका देशमा खाद्यान्नको अभाव हुनसक्ने विश्लेषण गरिएको छ । यसले गर्दा इन्धनसँगै खाद्यान्न र खाने तेलको भाउ बढ्ने खबरमा उल्लेख छ ।

एजेन्सी रोयटर्सका अनुसार ब्रेन्ट क्रुडको मूल्य ७ मार्चमा १२९.७८ डलर प्रतिब्यारल पुगेको छ । यस्तै, यूएस टेक्सस इन्टरमिडिएट (डब्ल्यूआईटी) क्रुडको मूल्य पनि १०.८३ प्रतिशतको बढोत्तरीका साथै १२६.५१ डलर प्रतिब्यारल पुगेको छ । यसअघि सन् २००८ मा ब्रेन्ट १३९.१३ डलर प्रतिब्यारल पुगेको थियो ।