मौसमी र बेमौसमी खेतीले थारू महिलामा खुसी।

महोत्तरी:= महोत्तरी वर्दिबासकी हेमलता सिंह अचेल खुसी हुनुहुन्छ । पाँच बर्ष अघिको अभाव र अहिलेको अवस्था तुलना गर्दा आनन्द आउने गरेको उहाँ सुनाउनुहुन्छ । उहाँमा यो खुसी ल्याउने औजार भने उहाँ आफैँ हो । उहाँको प्रयासमा नगरपालिकाले केही सहयोग र भरथेग भने गरिरहेकै छ ।

नगरपालिकाले यहाँका थारू महिलालाई मौसमी र बेमौसमी खेतीपाती कसरी लगाउने भन्ने विषयमा सिकाएको थियो । यही सिकाइलाई हेमलताले पनि सदुपयोग गरिरहनुभएको छ । उहाँ आजकाल दिनभरी खेतबारीमै हुनुहुन्छ । उहाँले खेतमा खर्बुजा र तरकारी फलाउनुभएको छ । ‘हुन त केही वर्ष अगाडि पनि खेती गथ्यौं, तर बजार पाउन कठिन थियो । आजकाल घरघरमै टेम्पो आइपुग्छ ।’ उहाँले भन्नुभयो ।

नगरपालिकाले हेमलताको टोलसम्म पुग्ने सडक निर्माण गरिदिएको छ । वडा अध्यक्ष रामकिशोर साहको पहलमा करिब ६० घरधुरी बस्ने चौधरी टोलमा विभिन्न शाखा र नगरपालिकासम्म जोड्ने मुख्य सडक सञ्जाल विस्तार भएको छ । हेमलता जनप्रतिनिधिहरूको सक्रियताप्रति निकै खुसी हुनुहुन्छ । आजकाल हेमलताको मात्र हैन वर्दिबास नगरपालिका–१२ स्थित यस वडाका थारू समुदायको दिनचर्या फेरिएको छ । नगरपालिकाले महिला उद्यमीबीच सहजकर्ताको भूमिका खेलेका कारण थारू महिलाहरू स्वरोजगार र सीपयुक्त भएका छन् ।

हेमलता जस्तै २६ महिलाले तरकारी खेतीसम्बन्धी तालिम लिएका छन् । अहिले सबै २६ जना सामूहिक खेती गरिरहेका छन् । पहिला उत्पादन भएका सामान राख्नसमेत यहाँ निकै समस्या थियो । स्थानीय सरकारले झण्डै ६ लाख खर्चेर साझा सुविधा केन्द्रको स्थापना गरिदिएको छ । अब भण्डारणको समस्या पनि समाधान भएको छ ।

दुईकोठे साझा सुविधा केन्द्रमा थारू समुदायले उत्पादन गरेको वस्तुले पनि सहजै स्थान पाउन थालेको छ । महिलाहरू सीप सिकेर आफैँ स्वरोजगार बनेपछि समुदायका पुरुषहरू पनि खुसी छन् । समुदायमा पुरुषभन्दा महिला बढी ब्यस्त हुने गरेको उनीहरू बताउँछन् ।

‘महिलालाई आयअर्जनमा सहभागिता बढाउन नगरका उद्यम सहजकर्ताहरूले खेलेको भूमिका सुन्दर छ ।’ हिमलाल चौधरीले भन्नुभयो । नगरपालिकाले परिचालन गरेका उद्यमी सहजकर्ताहरूले वडा नम्बर १२ मा मात्र नभई अन्य वडामा पनि विभिन्न सीपमूलक कार्यक्रम गरिरहेका छन् । विभिन्न वडामा अहिलेसम्म एक १७ जना महिला उद्यमी बनिसकेका छन् ।

महिलाहरूलाई अगाडि बढाए मात्र सामाजिक र पारिवारिक आर्थिक स्थिति बलियो हुने विषयलाई मध्यनजर गरी टोलटोलबाट महिलालाई जागरूक बनाएको नगरप्रमुख विदुर कार्की बताउनुहुन्छ । गरिबी उन्मूलनमा नगरपालिका औपचारिक रूपमा लागेको उहाँको भनाइ छ ।

नगरपालिकाले नगरभरिका करिब २४ सय घरपरिवारलाई गरिबीको रूपमा पहिचान गरेको छ । तीन महिना अगाडि हेफर इन्टरनेसनल नामक संस्थासँग सम्झौता गरी नगरपालिका गरिबी उन्मूलनको दिशातर्फ उन्मुख भएको नगरप्रमुख कार्कीले बताउनुभयो ।

गरिबी उन्मुलनको लागि पहिला किसानहरूलाई पशु तथा कृषिमा आत्मनिर्भर बनाउने र त्यसपछि आर्थिक उपार्जनको लागि २४ सय घरधुरीलाई गरिबीबाट मुक्त बनाउने नगरको योजना छ ।