काठमाडौं:= नेपाली सिनेवृत यतिबेला नायक पल शाह प्रकरणले तातेको छ । चलचित्र क्षेत्रका लोकप्रिय नायक पलविरुद्ध एक नाबालिग गायिकाले आफूलाई करणी गरेको भन्दै उजुरी हालेपछि उहाँ यतिबेला जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा हुनुहुन्छ ।
जिल्ला अदालतले सात दिनको म्याद दिएसँगै पलमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । नाबालिगतर्फबाट उहाँका बाबुले तनहुँ तथा नवलपरासी प्रहरी कार्यालयमा जाहेरी दिनुभएको थियो । गत आइतबारबाट प्रहरी हिरासतमा रहनुभएका नायक पललाई भेट्न विभिन्न कलाकर्मी तनहुँ पुगेको दृश्य युट्युबमा छ्यापछ्याप्ती हेर्न पाइन्छ । यतिमात्र होइन, जिल्ला प्रहरी कार्यालय अगाडि सर्वसाधारणदेखि अभियान्ता भनिने केही व्यक्तिहरूको गरेको नाराजुलुसका भिडियोले युट्युबका ट्रेंडिंग कब्जा गरिरहेका छन् ।
दर्जनौंको संख्यामा यतिबेला युट्युबरहरू जिल्ला प्रहरी कार्यालय तनहुँको आसपास छन् । केहिले राम्रो गरे पनि अधिकांश युट्युबरले सूचना दिने नाउमा अफवाह फैलाइरहेका छन् । तनहुँ पुगेका युट्युबरहरूले जे-जे देख्छन्, त्यो खिच्छन् र विना सम्पादन सिधैँ अपलोड गरिदिन्छन् । यस्तै तनहुँ नपुगेका युट्युबरले आफू बसेको स्थानबाट घटनासँग असम्बन्धित व्यक्तिहरू पीडितलाई आक्षेप लगाउने र पीडकको समर्थनमा भिडियो बनाएर युट्युबमा अपलोड गरिरहेका छन् ।
यसैबीच विगत डेढवर्षदेखि अनलाइन टिभीहरूलाई व्यवस्थितसँगै सुद्धीकरण गर्ने उद्देश्यले स्थापित संस्था अनलाइन टिभी संघका अध्यक्ष जीवन भण्डारीसँग हामीले यसैवीषयमा कुरा गरेका छौं । अनलाइन टिभी संघमै आबद्ध रहेका युट्युबर पनि तनहुँ पुगेर अफवाह फैलाइरहेका छन् । संस्थाका अध्यक्ष भण्डारीसँग हिमालय टाइम्सका गोपिकृष्ण चापागाईंले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-
युट्युबरले फैलाइरहेको अफवाहलाई अनलाइन टिभी संघले हेरिरहेको छ कि रोक्नलाई केही काम गर्दै छ ?
हामीले यो विषयमा बारम्बार आवाज उठाइरहेका छौं । युट्युबरले अफवाह किन फैलाइरहेका छन्, के कारणले यस्ता काम रोकिएको छैन भन्ने विषयमा अध्ययन अनुसन्धान गरेका छौं र सरोकारवालालाई झक्झकाउने, ध्यानाकर्षण गराइरहेका छौं ।
यो विषय हामीसँग मात्र सम्बन्धित छैन । प्रेस काउन्सिल र साइबर ब्युरोसँग पनि सम्बन्धित भएकाले प्रशिक्षणको आवश्यक देखिन्छ । केही कार्यक्रम आयोजना गरेर कस्तो विषयमा कसरी भिडियो प्रसारण गर्ने, के प्रसारण गर्ने, के नगर्ने भन्ने विषयमा प्रशिक्षण दिनुपर्ने आवश्यक छ । प्रशिक्षणका लागि साइबर ब्युरोसँग समन्वयन गरौं भनेर पटक-पटक साइबर ब्युरोलाई आग्रह गरेका छौं । उहाँहरू हुन्छमात्र भनी रहनुभएको छ ।
हामीले हाम्रो संस्थाको तर्फबाट अनलाइन स्वनियमन निर्देशिका जारी पनि गरिसकेका छौं । अनलाइनको माध्यमबाट भिडियो सम्प्रेषण गर्ने साथीहरूले विशेषगरी उक्त निर्देशिका पढ्नु हुन आग्रह गर्छौं ।
युट्युबरहरू किन पत्रकारिताको आचासंहिताभित्र बस्दैनन् ?
यसमा विशेषगरी दुईवटा कुरा छन् । पहिलो कुरा त कतिपयलाई पत्रकारिताको आचारसंहित नै थाहा छैन । अर्को कुरा उल्लंघन गर्दा कारबाही नभएकाले यस्तो भइरहेको छ । उल्लंघन गर्न प्रेरित गर्ने भनेको त्यसको आम्दानी हो । अलि उत्तेजित शीर्षक र ‘थम्ब्नेल’ राख्दा धेरै भ्युज धेरैजाने र आम्दानी हुने भएकाले त्यस्तो काम दोहोराइरहेका छन् ।
सूचना विभाग र प्रेस काउन्सिलमै दर्ता भएर पनि गल्ती गर्नेलाई प्रेस काउन्सिलले कारबाहीको दायरामा ल्याउनुपर्छ र दर्ता नभएकालाई साइबर ब्युरोले कारबाही गर्ने हो भने यो प्रवृत्ति छिनमै साम्य हुन्छ । एक-दुईलाई कारबाही गर्ने बित्तिकै यस्तो अफवाह फैलाउने काम रोकिन्छ । मुख्य कुरा भनेको प्रशिक्षण र कारबाहीले नै युट्युबर सही बाटोमा आउँछन् ।
अनलाइन टिभी संघमै आबद्ध केही युट्युबरले पनि अफवाह फैलाइरहेको देखिन्छ । त्यस्तालाई संस्थाले नै रोक्न सक्दैन ?
हामीले संस्थामा आबद्ध भएकालाई त प्रत्यक्ष रुपमै भन्ने गरेका छौं । तर कतिपयलाई भनेर पनि नलाग्न सक्छ । हामीले बढीमा गर्ने भनेको सदस्यता खारेज गरिदिने हो । तर सदस्यता खारेजले समस्याको समाधान हुँदैन । हामीले सम्झाउने र झक्झकाउने काम गरिरहेका छौं ।
के दर्शकलाई दोषी मान्नुहुन्छ ?
हो, दर्शकले पनि जस्तोपायो त्यस्ता भिडियो हेरिदिनुहुँदैन । विश्वस्नीय अनलाइनका भिडियो हेरिदिने, समाचार पढिदिने गर्नुपर्छ । त्यसो भनिरहँदा आममानिसलाई कुन अनलाइन राम्रो र कुन फेक भन्ने थाहा नहुन सक्छ । त्यसका लागि सरकारले नै सन्देश प्रवाह गर्नुपर्ने जरुरी हुन्छ । जस्तोकि, खानाखानु अगाडि हात धुनुपर्छ भनेर सन्देश फैलाए जस्तै यो कुरामा पनि सन्देश प्रवाह गर्नु जरुरी छ ।




















