म्याग्दी:= म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरका स्थानीय बासिन्दाहरू विकासको उज्यालोबाट आफ्नो गाउँलाई उजिल्याउने र गाउँकै प्रकृति, स्रोतसाधन तथा भूगोललाई व्यवस्थित र सदुपयोग गरी गाउँको पहिचान बढाउने काममा जुटेका छन् ।
केही समययता सामाजिक सञ्जालमा ‘भाइरल गाउँ’ बनेको रत्नेचौर अहिले आन्तरिक पर्यटकहरूको प्रमुख गन्तव्यस्थल बनेको छ । रत्नेचौर गाउँका बारेमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायतका केन्द्रीय नेताहरूले समेत चासो देखाउन थालेपछि यो गाउँको पहिचान झन् फराकिलो बन्दै गएको र यसको गरिमालाई उजिल्याउन पर्यटन विस्तारका योजनाबद्ध कामहरू सुरु भएका रत्नेचौरको विकासमा सक्रिय युवा तथा भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो ।
उत्तरतर्फ चाँदीझैँ टल्किएका धवलागिरि, निलगिरि, अन्नपूर्णलगायतका हिमशृंखला, तोरी र गहुँ झुलेर अत्यन्त आकर्षक देखिएको समथर फाँट, बेनी-बागलुङ सडकको बायाँतर्फ विशाल खेलमैदान त्यसै पनि रमाइलो रत्नेचौरको रौनक समथर खेतको फाँटको बीच भागबाट बनेको सडक कालोपत्रे भएपछि झन् बढेको छ ।
म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरदेखि अर्जम, भकुण्डे हुँदै भकिम्ली जोड्ने सडकको रत्नेचौर-अर्जम खण्डको एक हजार तीन सय मिटर सडक कालोपत्रे गरिएपछि रत्नेचौरको रौनक बढेको हो । समथर फाँटमा झुलेको धान, फाँटको बीचमा चिटिक्कको कालोपत्रे सडक र पृष्ठभूमिमा धवलागिरि, निलगिरिलगायतका हिमशृंखलालाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउन, टिकटक बनाउन र रमाउन यहाँ दैनिक सयौंको संख्यामा युवायुवतीहरू आउन थालेपछि अहिले रत्नेचौर गाउँ बेफुर्सदिलो बनेको छ ।
बेनी नगरपालिकाका तीनवटा वडालाई समेटिएको यस सडक खण्डको जिरो किलोमिटर रत्नेचौरदेखि सडक कालोपत्रे सुरु भएको हो । सडक डिभिजन कार्यालय बागलुङमार्फत् यस वर्ष एक हजार तीन सय मिटर सडक कालोपत्रे गर्ने योजनाअनुसार एक हजार तीन सय मिटर सडक कालोपत्रे गरिएको बेनी नगरपालिका–२ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।
उहाँका अनुसार कालोपत्रेसँगै अर्जमदेखि भकुण्डेसम्मको सडकलाई समेत फराकिलो बनाउने, नाली निर्माण गर्ने, ढलान गर्नेलगायत स्तरोन्नतिका कामहरू भएका छन्। सडक नालीसहित आठ दशमलब २० मिटर फराकिलो बनेको छ । सडक डिभिजनमार्फत् सडक कालोपत्रे गर्न एक करोड ३७ लाख र सडक स्तरोन्नति गर्न एक करोड १२ लाख ७६ हजारमा सडक कालोपत्रे र स्तरोन्नतिको काम भएको वडाध्यक्ष रावलले बताउनुभयो ।
सडक फराकिलो बनाउने, हृयुमपाइप राख्ने, ग्राभेल गर्ने, मेसिनरी पर्खाल लगाउने र ढलानसमेत गरी स्तरोन्नतिलगायतका कामहरू सम्पन्न भइसकेका र आगामी वर्ष अर्जमसम्म कालोपत्रे गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । सडकको ट्र्याक निर्माण भएको करिब दुई दशकपछि ग्रामीण सडक कालोपत्रे आयोजना सञ्चालन भएपछि स्थानीयवासी उत्साहित बनेको स्थानीय अमरबहादुर बोगटीले बताउनुभयो ।
‘गाउँकै नेता प्रतिनिधिसभा सदस्य हुनुहुन्छ, उहाँकै पहलमा ग्रामीण सडक कालोपत्रे हुन थालेको छ, यहाँबाट सुरु भएको कालोपत्रे अर्जम, ज्यामरुकोट, भकुण्डे हुँदै ज्यामरुकोटसम्म पुगेमा तीन वडाका हजारौंँ नागरिक प्रत्यक्ष लाभान्वित हुन्छन्,’ उहाँले भन्नुभयो । कच्ची सडकका कारण नियमित सवारीसाधन सञ्चालन नहुने, हिउँदमा धुलो र बर्खायाममा हिलोको सास्ती बेहोर्दै आएकोमा सडक कालोपत्रे सुरु भएपछि स्थानीयवासीमा खुसियाली छाएको छ ।
प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाका अनुसार रत्नेचौर-भकुण्डे हुँदै भकिम्ली जोड्ने १८ किलोमिटर सडकको डिपिआर नै तयार पारेर बहुवर्षीय आयोजना सञ्चालन भएको हो । आगामी वर्षसमेत बजेट विनियोजन गरी कालोपत्रेसहितको स्तरीय सडक निर्माणका लागि पहल गरिनेछ ।रत्नेचौरवासीहरू गाउँको विकासमा एकजुट भएका छन् । कृषिमार्फत् पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहाँका बासिन्दाहरूले पश्चिमबाट पूर्वतर्फ लमतन्न फैलिएको समथर फाँटलाई अग्र्यानिक कृषिफाँट बनाउने पहल सुरु गरेका छन् ।
गाउँको फाँटमा रैथाने जातको खेती गर्ने, होटल, रेस्टुरेन्ट र होमस्टे (घरवास) को विस्तार गर्ने, दूध, ताजा तरकारी र फलफूलका लागि हरेक घरमा करेसाबारी र पशुपालन गर्नेलगायत कामहरूको सुरुवात भइसकेको अगुवा युवा खत्रीले बताउनुभयो । त्यसैगरी ढोडेनी खोलामा निर्माण हुँदै गरेको रत्नेचौर-कुडुले जोड्ने झोलुंगे पुल पनि रत्नेचौरको विकासका लागि थप कोसेढुंगा बनेको छ ।




















