किभ एजेन्सी := युक्रेनमा रूसको सैन्य कारबाही सुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी युएनएचसिआर ले बिहीबार जनाएको छ। आफ्नो ट्विटर हृयाण्डलमा युएनएचसिआर उच्चायुक्त फिलिपो ग्राण्डीले लेख्नुभएको छ, ‘केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन भएको देख्यौं ।’
पछिल्लो समयसम्म युक्रेनका १० भन्दा बढी शहर ध्वस्त भएका छन् । त्याहाँका धेरै क्षेत्र भग्नावशेष र सुनसान देखिन थालेका छन् । बमबारीको त्रासले सडक सुनसान छन् । युक्रेनी जनताहरू हताश र निराश देखिएका छन् भने धेरैको रोजगारी, परिवार, सम्पत्ति सबै गुमेको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ । उहाँले युक्रेनका टुक्रिएका क्षेत्रहरू- डोनेट्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछि तनाब युद्धमा परिणत भएको थियो ।
यसैबीच, संयुक्त राष्ट्र संघको महासभामा बुधबार भएको मतदानमा १४१ राष्ट्रले युक्रेनमा रुसको आक्रमणको निन्दा गरेका छन् भने पाँच राष्ट्रले समर्थन गरेका छन् । यो प्रस्तावको विपक्षमा रूस, बेलारुस, उत्तर कोरिया, एरिट्रिया र सिरियाले मात्र मतदान गरेका थिए ।
चीन, भारत, पाकिस्तान, दक्षिण अफ्रिकालगायत ३५ देश तटस्थ बसेका छन् । संयुक्त राष्ट्र महासभा प्रमुख अब्दुल्ला शाहिदले प्रस्तावको नतिजाले युक्रेनमाथिको आक्रमणले विश्व समुदाय चिन्तित भएको दर्शाएको बताउनुभयो । महासचिव एन्टिनियो गुटरेशले महासभाले शान्तिको आवाज बुलन्द गरेको भन्दै युक्रेनमा दुस्मनीको अन्त्य होस्, बन्दुक बन्द होस् र संवादका लागि कूटनीतिक दरबाजा खुला होस् भन्ने सन्देश दिएको बताउनुभयो ।
यो प्रस्ताव बहुमतले पारित भए पनि सुरक्षा परिषद्का पाँच स्थायी सदस्यको एक मत नभई कारबाहीमा भने बाध्यकारी हुँदैन । सुरक्षा परिषद्का स्थायी सदस्य अमेरिका, बेलायत, रूस, फ्रान्स र चीनलाई भिटो प्रयोगको अधिकार छ ।
यता, युक्रेनको राजधानी कब्जा गर्ने तयारीसाथ नजिक पुगेको रूसी सैनिकले किभमा लगातार रकेट आक्रमण गरेको छ । आक्रमणबाट किभको जनजीवन प्रभावित भएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सैनिकविरुद्ध प्रतिकार गर्न आफ्नो सेना सफल भइरहेको बताउनुभएको छ भने नागरिकलाई समेत प्रतिकारका लागि तयार भइरहन अपिल गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूका अनुसार रूसी आक्रमणमा पछिल्लो समयसम्म दुई हजार बढी सर्वसाधारण मारिएका छन् । रूसी अधिकारीले आफ्ना पाँच सय सैनिक मारिएको स्वीकार गरेको छ । रूसी सेनाले खेरसोन शहर नियन्त्रणमा लिएको छ ।
युक्रेन आक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ । अधिकारीहरूका अनुसार आक्रमणको आठौं दिनमा तेलको मूल्य ११० डलर प्रतिब्यारेलभन्दा बढी पुगेको छ ।
यसैबीच रूस र युक्रेनबीच दोस्रो चरणको शान्ति वार्ता बिहीबार भएको छ । रुसका तर्फबाट वार्तामा रुसी राष्ट्रपतिका सहयोगी तथा वार्ता टोली प्रमुख भ्लादिमिर मेडिनेस्की हुनुहुन्थ्यो । वार्ता पोल्याण्ड र बेलारुसको सिमानामा भएको रूसी सञ्चारमाध्यमले जनाएका छन् ।




















