आजबाट हलमा प्रदर्शन हुँदै एकदमै फरक स्वादको नेपाली चलचित्र ‘लप्पन छप्पन-२’

काठमाडौं:= नेपाली चलचित्र क्षेत्र बिस्तारै उकालो लाग्दै छ । विगत दुई वर्ष कोरोनाले थलिएसँगै अहिले एकपछि अर्को चलचित्र प्रदर्शनमा आउन थालेपछि व्यापारको ग्राफ पनि उकालो लाग्दैछ ।

गत शुक्रबारबाट ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन भइरहेको छ भने आज (शुक्रबार)बाट अर्को नयाँ चलचित्र ‘लप्पन छप्पन २’ प्रदर्शनमा आएको छ । प्रेमकथा, हररलगायतका चलचित्र हेरेका दर्शकका लागि यो चलचित्र फरक लाग्न सक्छ।

‘लप्पन छप्पन २’को बिहीबार साँझ काठमाडौंको सिटी सेन्टर मलमा रहेको बिग मुभिजमा प्रिमियर गरियो । प्रिमियरमा उपस्थित चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूबाट चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको थियो ।

मुकुन्द भट्ट निर्देशित चलचत्रिमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, विशाल पहारी, दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डालगायत कलाकारहरूको अभिनय रहेको छ । पैसा र शक्तिको कथामा निर्माण भएको चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नुभएको हो भने मिलन श्रेष्ठको सम्पादन छ।

प्रिमियरपछि सञ्चारकर्मीसँगै कुरा गर्दै कलाकार शिव श्रेष्ठले नेपाली चलचित्र क्षेत्रमा लोकप्रिय कलाकारहरूले काम गरेको चलचित्र भन्दै निर्माण टिमले हरेक कुरामा मिहिनेत गरेको सुनाउनुभयो । ‘चलचित्र बनाउन निकै गाह्रो छ । चलचित्रमा कलाकारहरू उत्तिकै राम्रा हुनुहुन्छ ।

दर्शकले मन पराइरहनुभएका कलाकार नै हुनुहुन्छ’, अभिनेता शिवले भन्नुभयो, ‘हामीले चलचित्रमा दिएको कन्टेन्टले नै भोलिको दिनमा बोल्छ जस्तो लाग्छ ।’ उहाँले चलचित्रमा फरक स्वाद भएको बताउनुभयो । शिवले उदाहरण दिँदै भन्नुभएको छ, ‘आँप खादा पनि मान्छेको जिब्रो अनुसार फरक–फरक स्वाद लाग्न सक्छ भनेजस्तै चलचित्र त चलचित्र नै हो तर दर्शकनुसार फरक स्वाद लाग्न सक्छ।’

यस्तै अर्का मुख्य कलाकार अर्पण थापाले चलचित्र साच्चै नै राम्रो बनेको भन्दै मेकिङको टिमको तारिफ गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले मेरो चलचित्र भएर भनेको होइन, चलचित्र साच्चै राम्रो बनेको छ । यसको कलर, साउण्ड, इडिडिङले अझ बढी राम्रो लागेको छ ।’ अर्पणले आफू दर्शक भएर हेर्दा चलचित्रको क्वालिटीले पनि दर्शकलाई तान्न सक्ने बताउनुभयो । कलाकार शक्ति श्रेष्ठले आफूले अभिनय गरेको चलचित्र फेरि एकपटक सबैलाई हेर्न आग्रह गर्नुभयो।

यस्तै चलचित्र हेरिसकेपछि ‘चपली हाइट’ चलचित्रको सिरिजका निर्माता अर्जुन कुमारले लप्पन छप्पनको पहिलो सिरिज पनि हेरेको र अहिले पनि निकै मन परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फरक कथामा बनेको र ठूलो स्केलमा बनेको छ, मलाई चाँही राम्रो लाग्यो ।’ चलचित्रको कलाकारसमेत रहनुभएका चलचित्र वितरक गोविन्द शाहीले पहिलो सिरिजजस्तै दोस्रो राम्रो चल्नेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाली चलचित्र पनि विदेशमा गएर छायांकन गर्न सकिन्छ भन्ने सन्देश पनि दिएको बताउनुभएको छ । साथै उहाँले सबैलाई एकपटक चलचित्र हेरेर प्रतिक्रिया दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभएको छ, ‘अहिले नेपाली चलचित्र धमाधम प्रदर्शन हुन थालेका छन् । यो चलचित्र पनि राम्रो बनेको छ, हेरेर जस्तो लाग्छ प्रतिक्रिया दिनुहोला ।’

यस्तै कमेडियन हिमेश पन्तले चलचित्रको क्वालिटीमा निकै ध्यान दिइएको प्रतिक्रिया दिनुभयो । कसको अभिनयले मन छोयो भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा हिमेशले कलाकार अर्पण थापाको अभिनय विशेष भन्दै दर्शकलाई चलचित्र हेर्न आग्रह गर्नुभयो ।

प्रिमियरमा कलाकार सौगात मल्ल र अनुपविक्रम शाही अनुपस्थित हुनुका कारण चलचित्रको छायांकनमा व्यस्त भएको भन्दै चलचित्रका निर्देशक मुकुन्द भट्टले प्रष्ट पार्नुभयो । यस्तै निर्देशक भट्टले चलचित्रको छायांकन कोरोना कहरअघि नै गरिएको र अहिले आएर प्रदर्शन गर्ने आँट गरेको बताउनुभयो ।