लण्डन:= इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक रोमन अब्रामोभिचले क्लब बेच्ने निर्णय गर्नुभएको छ । एक विज्ञप्ति जारी गर्दै रसीयन अर्बपति अब्रामोभिचले क्लब बेच्ने घोषणा गर्नुभएको हो । उहाँले एफए कपको पाँचौं चरणमा लुटन टाउनसँगको खेल सुरु हुनु ६२ मिनेट अगाडि क्लब बेच्ने विज्ञप्ति सार्वजानिक गर्नुभएको थियो । क्लब बिक्रीमार्फत हुने आम्दानी युक्रेन-रूस युद्धका पीडितलाई दान गर्ने उहाँले बताउनुभएको छ ।
उहाँको निर्णयपछि पनि क्लबले तीन/दुईको जित निकाल्दै क्वार्टरफाइनलमा चेल्सीले स्थान बनाएको छ । चेल्सीविरुद्धको खेलका क्रममा अब्रामोभिचको समर्थनमा नारा लागेको थियो । उनले क्लबलाई सुधार गरेको र चेल्सीलाई उपाधि दाबेदारीमा संधै शीर्ष स्थानमा राखेको भन्दै उहाँको समर्थनमा क्लबका समर्थकले नारा लगाएका थिए ।
क्लबको मूल्यमा भने आधिकारिक धारणा सार्वाजानिक गरिएको नभएपनि तीन अर्व पाउण्डमा बेच्न सक्ने सञ्चारमाध्यामले जनाएका छन् । ५५ वर्षीय अब्रामोभिचको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गहिरो सम्बन्ध रहेको बताइन्छ । तर, उहाँले त्यो अस्वीकार गर्दै आउनुभएको छ । उहाँले क्लब बिक्री गरेर हुने सबै नाफा युक्रेनमा युद्धबाट पीडित भएका मानिसलाई दान दिने बताउनुभएको छ ।
‘मैले मेरो टोलीलाई एउटा परोपकारी संस्था खडा गर्न भनेको छु जसमार्फत सबै मुनाफा दान गरिनेछ । यो संस्था युक्रेनमा युद्धबाट पीडित भएका मानिसहरूका लागि हुनेछ’ उहाँले भन्नुभएको छ । सन् २००३ मा अब्रामोभिचले १४ करोड पाउण्ड स्टर्लिङमा खरिद गर्नुभएको थियो ।




















