बिल्वाओलाई पराजित गर्दै भ्यालेन्सिया स्पेनिस कोपा डेल रेको फाइनलमा।

लन्डन:= एथलेटिको बिल्वाओलाई पराजित गर्दै भ्यालेन्सिया स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । भ्यालेन्सियाले सेमिफाइनलको दोस्रो लिगमा १-० को तथा समग्रमा २-१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।

भ्यालेन्सियाको जितमा गोन्कालो गुइडेसले गरेको गोल नै निर्णायक बन्यो । उहाँले ४३औँ मिनेटमा गोल गर्नुभएको थियो । अब भ्यालेन्सियाले उपाधिका लागि रायो भालेकानो र रियल बेटिसबीचको विजेतासँग खेल्नेछ । भ्यालेन्सिया सन् २०१८-१९ को सिजनपछि फाइनलमा प्रवेश गरेको हो ।

यस्तै कोपा इटालियामा युभेन्ट्सले सेमिफाइनलको पहिलो लिगमा फियोरेन्टिनामाथि १-० को जित हात पारेको छ । बुधबार राति भएको खेलको इन्जुरी समयमा लोरेन्जो भिनुटीले आत्मघाती गोल गर्नुभएपछि युभेन्ट्सले जित हात पार्‍यो ।

यस्तै अर्को खेलमा एसी मिलान र इन्टर मिलानले पनि सेमिफाइनलको पहिलो लिगमा गोलरहित बराबरी खेलेका थिए । यी दुईबीचको दोस्रो लिगको खेल पनि २० अप्रिलमै हुनेछ ।