एमसिसीको विरोध गर्न कित्ता बलियो बनाउन ‘विप्लव’को दौडधुप।

[ डिबी शर्मा ] 

काठमाडौं:= नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक दौडधुप बढाउनुभएको छ । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना (एमसिसी) अनुमोदन भएपछि संघर्षरत चन्दले राजनीतिक भेटघाटलाई बढावा दिनुभएको हो। उहाँले सत्ता र प्रतिपक्षमा रहेका दलमा एमसिसीलाई लिएर असन्तुष्ट नेताहरूसँग भेटघाटलाई तीव्रता दिनुभएको हो । उहाँले दुई दिनको अवधिमा विभिन्न दलका आधा दर्जन नेताहरूसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।

विप्लवले सत्तारूढ नेकपा माओवादीदेखि एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी नेकपा एमालेका असन्तुष्ट नेतालाई समेत भेट्नुभएको छ । बुधबार माओवादी नेता नारायणकाजी श्रेष्ठलाई भेट्नुभएका महासचिव विप्लवले बिहीबारसम्म भेटघाटलाई निरन्तरता दिनुभयो । विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि भेटघाटमै सक्रिय हुनुहुन्छ।

उहाँले माओवादी नेता श्रेष्ठसहित नेता कृष्णबहादुर महरा, नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, एमाले नेता डा. भीम रावल, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे र सांसद प्रेम सुवालसँग भेटवार्ता गर्नुभएको छ । श्रेष्ठ र विजुक्छेलाई भेटेपछि उहाँहरूले बुधबार दिउँसो नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई भेटनुभएको थियो ।

विप्लवले भेटनुभएका विजुक्छे बाहेकका नेताहरू एमसिसी अनुमोदनपछि असन्तुष्ट हुनुहुन्छ । नेमकिपा एमसिसीको विपक्षमा लगातार उभिँदै आएको छ । एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्ने पक्षमा उभिएपछि खनाल असन्तुष्ट हुनुहुन्छ । त्यस्तै, माओवादी नेता श्रेष्ठको असन्तुष्टि पनि उस्तै छ । माओवादी नेता महरा र एमाले नेता रावल पनि पार्टीभित्र एमसिसीकै विषयमा असन्तुष्ट हुनुहुन्छ ।

पार्टी एमसिसीका पक्षमा उभिएपछि असन्तुष्ट रहेका नेताहरूलाई भेटेर विप्लवले सहकार्यको प्रस्ताव गर्नुभएको छ । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य असलका अनुसार सबैजसो भेटघाटमा एमसिसीविरुद्धको आन्दोलनमा एक भएर लड्ने र खारेजीसम्मको अवस्थामा पुर्‍याउने विषयमा कुराकानी भएको छ ।

त्यस्तै, क्रान्तिकारी धु्रवीकरणलाई निष्कर्षमा पुर्‍याउने विषयमासमेत छलफल भएको उहाँले बताउनुभयो । जनताको आमूल परिवर्तनको आकांक्षालाई ध्यान दिएर समाजवादी व्यवस्था निर्माणको पहल गर्ने विषयमा पनि नेताहरूबीच छलफल भएको उहाँको भनाइ छ । भेटघाटका क्रममा विप्लवले राखेको प्रस्तावमा नेताहरू सकारात्मक देखिएको उहाँले जानकारी दिनुभयो ।

एमसिसीकै कारण नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलमा असन्तुष्टि बढेपछि विप्लवले सक्रियता बढाउनुभएको हो । उहाँ ती पार्टीका नेताहरूलाई एमसिसीविरोधी कित्तामा उभ्याउने प्रयासमा जुट्नुभएको छ । एमसिसीविरोधी शक्तिलाई धुव्रीकृत गरेर आन्दोलनको उठान गर्ने प्रयासमा विप्लव देखिनुभएको छ ।

खुल्ला मञ्चमा विरोधसभा

विप्लव नेतृत्वको नेकपासहित ६ कम्युनिष्ट पार्टी र दुई मोर्चा संयुक्त रूपमा मोर्चाबन्दी गरेर एमसिसीविरोधी आन्दोलनमा छन् । त्यसैअनुसार उनीहरूले शुक्रबार एमसिसीविरुद्ध खुल्ला मञ्चमा विरोधसभासमेत गर्दैछन् । हालै सत्ता गठबन्धनबाट बाहिरिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, आहुति लगायतको पार्टी सामेल छन् ।

विरोधसभामा माओवादी, एकीकृत समाजवादी र एमालेका असन्तुष्ट नेतालाई पनि सम्बोधनका लागि आग्रह गरिएको छ । तर, उनीहरू आउने/नआउनेबारे भने टुंगो लागेको छैन ।

यसैबीच अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौताविरुद्ध संयुक्त जनआन्दोलनले काठमाडौंमा बृहत विरोधसभा गर्ने भएको छ । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै जनआन्दोलनले एमसिसीविरुद्ध काठमाडौंको इन्द्रचोकमा फागुन २३ गते साढे १ बजे हुने विरोधसभामा सहभागी हुन आव्हान गरेको छ । संयुक्त जनआन्दोलनले एमसिसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी राख्ने पनि जनाएको छ ।

पत्रकार सम्मेलनमा नेकपा मालेका नेता सिपी मैनालीले एमसिसी जनताको पक्षबाट असफल भएपनि संसद्बाट स्वीकृत भएकोमा आपत्ति जनाउनुभयो । यस्तै, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका सह-अध्यक्ष विष्णु भट्टराईले एमसिसी कम्प्याक्ट प्रतिनिधिसभाबाट प्राविधिक रूपले अनुमोदन भएको बताउनुभयो ।

उहाँले सम्झौतामा भएको १२ बुँदाको ६ को ८ मा एमसिसीको हैसियतको बारेमा बताउँदै एमसिसीको कारण नेपालमा हुने हानिको कुनै पनि दायित्व अमेरिकाले बहन नगर्ने स्पष्ट पार्नुभयो। त्यस्तै, उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले केही वरिष्ठ अधिवक्ताहरू विदेशीको एजेण्ट बनेर व्याख्यात्मक टिप्पणी डाफ्ट गरेको आरोप लगाउनुभयो । उहाँले अमेरिकाको सहमति लिएर निर्णय भएको टिप्पणी गर्नुभयो ।

नेकपा माले, जनसमाजवादी पार्टी, नेपाल, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, त्रिमुल नेपाल, उन्नत लोकतन्त्र पार्टी, नेकपा (संयुक्त), नेपाल सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), नेपालवाद पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल राष्ट्रिय जनवादी पार्टी, नेसनल मुभमेन्ट नेपाललगायत पार्टीहरूले एमसिसीविरुद्ध फागुन २३ गते विरोध कार्यक्रम गर्ने भएका हुन्।