स्थानीय चुनाव: निर्वाचन आयोगलाई ८ अर्ब ११ करोडको सुनिश्चितता।

काठमाडौं:= आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सञ्चालन एवं व्यवस्थापनका लागि आठ अर्ब ११ करोड रुपैयाँ बजेटको सुनिश्चितता भएको निर्वाचन आयोगले बताएको छ । नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार आयोगका प्रवक्ता शालिग्राम शर्माले अर्थ मन्त्रालयबाट हाललाई सो रकमको सुनिश्चितता भएको जानकारी गराउनुभएको हो ।

निर्वाचन आयोगले आठ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेकोमा केही शीर्षकको बजेट घटाएर अर्थ मन्त्रालयले आठ अर्ब ११ करोड बजेट छुट्याएको हो । स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० वटा राजनीतिक दल दर्ता भएका र तिनको अध्ययन भइरहेको भन्दै प्रवक्ता शर्माले निर्वाचनमा भाग लिने राजनीतिक दलहरूको नाम फागुन २६ गतेभित्र प्रकाशन गरिसकिने जानकारी दिनुभयो ।

निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नामावली पनि आयोगले सम्बन्धित निकायबाट पाइसकेको उहाँले बताउनुभयो । यसैगरी, मतदाताको एकभन्दा बढी नाम भएको, मृत्यु भएको वा नागरिकता त्याग गरेको लगायतका निर्वाचनसँग सम्बन्धित मतदाता नामावलीको जाँचबुझ फागुन २० देखि २६ गतेसम्म गरिने प्रवक्ता शर्माले बताउनुभयो ।

उहाँले मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र निर्वाचन आयोगको वेवसाइटमा हेर्न सकिने पनि जानकारी दिनुभयो । आयोगले गठन गरेको उच्चस्तरीय विज्ञ टोलीले स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिनबाट मतदान गराउन सुझाव दिए पनि आयोगले कागजी मतपत्रलाई नै प्राथमिकता दिने भएको छ  ।

काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा विद्युतीय मतदान गर्ने योजनासहित सञ्चार मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।