यूक्रेनबाट तीन म्याग्देली नेपालीको उद्धार।

म्याग्दी:= युद्धग्रस्त मुलुक युक्रेनको राजधानी किएभमा फसेका तीन म्याग्देलीको उद्धार गरी पोल्याण्डमा लगिएको छ । रूस र युक्रेनबीचको युद्धमा चर्किदै गए पछि युक्रेनको राजधानी किएभमा रहेका तीन म्याग्देलीको उद्धार गरी पोल्याण्ड लगिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाजले जनाएको छ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सुसन परियारले दिएको जानकारी अनुसार यूद्ध प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिहरुमा मालिका गाउँपालिका–६ दिच्यामका अमृत पटेल, मालिका गाउँपालिका  ७ बिमका तिलक सुनार र बेनी नगरपालिका–३ भकिम्लीका नारायण पुन रहेका छन् ।

उनीहरुलाई पोल्याण्डमा रहेका नेपाली संघ संस्थामार्फत उद्धार गरिएको हो । अध्यक्ष परियारका अनुसार दिच्यामका पटेल र बिमका सुनार गन्तब्यमा पुगिसकेको भएपनि भकिम्लीका पुन पोल्याण्डको सिमा क्षेत्रमा नै रहेका छन् । ‘उहाँ उद्धारकर्तासँगै हुनुहुन्छ,बिरामी हुनुहुन्छ, त्रसित भएजस्तै गर्नुभएको छ’ परियारले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

पोल्याण्डमा रहेको नेपाली संघसंस्था सिमा क्षेत्रबाट नियमित उद्धारमा खटिएको उनले बताए । पासर्पोटमा भकिम्ली लेखिएपनि पुनले आफु बरंजाको भएको बताउने गरेकाले उद्धारको क्रममा समस्या भएको उनको भनाई छ ।

यता नेपाली कांग्रेस जनसम्पर्क समिति पोल्याण्डका सभापति भीम परियारले उद्धारको क्रम जारी रहेको बताए । ‘म्याग्देलीको पहिचानमा जुटेका छौ, भिडभाड धेरै भएकाले उद्धार गरिएको स्थानमा पुगेपछि संख्या बढ्ने देखिएको छ’ परियारले भने  । रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धारका लागि नेपाली हेल्प डेस्क मार्फत उद्धारमा जुटेका छन् ।

उद्धार गरिएकालाई सुरक्षित स्थानमा खानपिन सहित स्वास्थ्य चेकजाँच सहितको सुविधा रहेको बताइएको छ । युक्रेन छोडेर कैयौं नेपालीहरु पोल्याण्ड बाहेक स्लोभाकिया, हंगेरी, रोमानियाम र माल्डावामा समेत पुगेका परियारले जानकारी दिए। युक्रेनमा म्याग्देलीको आधिकारिक संख्या पहिचान नभएपनि छिमेकी देशमा गइरहेका नेपालीहरुमा म्याग्देली समेत भएकाले संख्या धेरै रहेको अनुमान गरिएको छ ।

उद्धार गरिएकाहरूबाट युक्रेनमा रहेका म्याग्देलीको संख्याका बारेमा बुझ्ने प्रयास भइरहेको पोल्याण्डमा रहेका म्याग्देलीको भनाई छ । पछिल्लो समय रोजगारीका लागि रोमानियामा जाने म्याग्देलीको संख्या समेत धेरै भएकाले यूक्रेनबाट बाहिरिएका म्याग्देलीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।