एजेन्सी सिड्नी:= अष्ट्रेलियाका पूर्वी राज्यहरूमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या बुधबार ११ पुगेको छ । न्यू साउथ वेल्सको प्रहरीले बुधबार उक्त राज्यमा बाढीका कारण तेस्रो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ ।
बाढीका कारण राज्यकै सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक दक्षिण लिसमोरमा एक महिलाको शव भेटिएसँगै अष्ट्रेलियामा बाढीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको हो । बाढीका कारण मृत्यु हुनेमध्ये आठ व्यक्ति क्वीन्सल्याण्ड राज्यका रहेका प्रहरीले पुष्टि गरेको छ । यसबीच, शहरको मुख्य पानीको स्रोत, दक्षिणपश्चिम सिड्नीको वारागाम्बा बाँधलाई बाढीले बगाइदिएको छ ।
गत हप्तादेखि क्वीन्सल्याण्ड र उत्तरी न्यू साउथ वेल्सलाई अत्यधिक वर्षापछिको बाढीले तहसनहस गरिरहेको र उक्त क्रम यस हप्ता जारी रहने मोसम पूर्वानुमान कार्यालयले जनाएका छन् । हन्टर र मेट्रोपोलिटन, इलवार्रा, दक्षिण तट र मध्य तथा दक्षिणी टेबलल्याण्ड्स जिल्लाका केही भागमा भारी वर्षाद्वारा आउनसक्ने विपत्तिको पूर्वानुमान गरिएको छ ।




















