कृषि उद्योगले स्वदेशमै रोजगारी बढ्दै।

झापा:= पछिल्लो समय नेपालमा कृषि पेशा आधुनिक तवरले गर्न थालिएको छ । यो पेशा अहिले दर्ता गरेर उद्योगका रूपमा अघि बढिरहेको छ । विगतमा देशमा रोजगारी नभएर विदेशिएका युवा स्वदेश फर्केर कृषि पेशा अँगालिरहेका छन् । कृषि पेशा व्यावसायिकरूपमा अघि बढ्न थालेपछि कृषक र त्यहाँ कार्यरत मजदुर खुसी छन् ।

झापाको ग्रामीण क्षेत्रमा समेत कृषि उद्योगहरू धमाधम सञ्चालनमा आउन थालेका छन् । सरकारले दिने अनुदान र कोरोना कहरले गर्दा गाउँघरमै केही गर्न चाहने युवाहरूले खोलेका फार्मले वार्षिक पाँच हजार बढीलाई रोजगारीसमेत दिइरहेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय झापाको तथ्यांकअनुसार कोरोनाकालमा सबैभन्दा धेरै कृषिजन्य उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षमा तीन हजार ११० उद्योग दर्ता हुँदा एक हजार ८४९ कृषि उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र १३ सय ९६ उद्योग दर्ता हुँदा ८७२ कृषि उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

कृषि क्षेत्रमा दैनिक तीन सय बढीले प्रत्यक्षरूपमा रोजगारी पाइरहेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताउनुभयो । ‘प्रत्यक्षरूपमा दैनिक करिब तीन सयले रोजगारी पाएका छन्,’ उहाँले भन्नुभयो, ‘अप्रत्यक्षरूपमा कृषिबाट रोजगारी पाउने धेरै छन् ।’ पछिल्लो समय कृषिलाई उद्योगका रूपमा विकास गरेर काम गर्नेको संख्या बढेको उहाँ बताउनुहुन्छ । ‘अहिले त व्यावसायिक खेती गर्ने धेरै छन् ।

जसमा युवाहरू धेरै देखिन्छन् । सरकारले कृषिमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको छ,’ उहाँ भन्नुहुन्छ, ‘विदेश बसेर दुःख पाएर देशमै केही गरौँ भनेर नेपाल आएकाले पनि कृषि पेशालाई व्यावसायीकरण गरेका छन् । अर्को कुरा विदेशमा बसेर केही कमाएका हुन्छन् । जसले आफ्नै लगानीमा पेशा गर्न पनि पाएका छन् । कृषि पेशा अरूको भन्दा सजिलो र सहज छ । विदेशमा गएका युवाले त्यहाँ पनि कृषिमै काम गरेकाले पनि नेपाल आएर यही पेशा गर्नेको संख्या बढी छ ।’

तीन वर्षदेखि कोरोनाको प्रभाव खेप्दै आएका वैदेशिक रोजगारमा जाने युवाहरूले पछिल्लो समय स्वदेशमै उद्योगधन्दा सञ्चालन गर्न थालेका छन् । जसले गर्दा स्थानीयस्तरमै रोजगारसँगै आम्दानीसमेत गर्न थालेको व्यावसायिक केरा उत्पादक किसान चन्द्र बस्नेत बताउनुहुन्छ । ‘इजरायलमा सिकेको सीपमार्फत् आफ्नै देशमा व्यावसायिक केरा खेती गर्दै आएको छु । कृषिमा व्यावसायीकरण गर्न सक्यो भने राम्रो हुन्छ,’ उहाँले भन्नुभयो ।

ज्ञानकेन्द्र प्रमुख सिंहका अनुसार झापामा तरकारी, केरा, नर्सरी, च्याउलगायतका व्यावसायिक खेती हुँदै आएका छन् । कृषि उद्योग सञ्चालन गर्दैगर्दा कृषि मजदुरको अभाव भइरहेको गौरादहका च्याउ उत्पादक कृषक नलबहादुर खड्का बताउनुहुन्छ । ‘हामी व्यावसायिकरूपमा खेती गर्नेलाई मजदुरको अभाव हुन्छ । कृषि क्षेत्रमा काम गर्ने मान्छे पाउनै मुस्किल हुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘कृषि क्षेत्रमा पनि पैसा राम्रो छ । मानिसहरू विदेश जान्छन् । तर, कृषि क्षेत्रमा मजदुर गर्न मन पराउँदैनन् ।’