धुमधामसँग मनाइयो महाशिवरात्रि: १० लाखले गरे पशुपतिनाथको दर्शन।

काठमाडौं:= प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी मंगलबार देशभर धुमधामसँग मनाइएको छ । देशभरका शिवालयमा शिव भगवान्को पूजा आराधाना गरी महाशिवरात्रि पर्व मनाइएको हो ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना र दर्शन गरे लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मंगलबार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गरेका थिए । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेख छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन मंगलबार भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानुनपर्ने धार्मिक विश्वास छ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको पर्वका अवसरमा मंगलबार पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिएको थियो । दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न मंगलबार देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतलगायत तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको थियो ।

महाशिवरात्रिका लागि मंगलबार बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुल्ला गरिएको थियो । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार यस वर्ष १० लाख बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका छन् । यस वर्षको महाशिवरात्रि पर्व भव्य भएको उहाँले हिमालय टाइम्सलाई बताउनुभयो ।

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पूजा-आराधना

महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा–आराधना एवं दर्शन गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गर्नुभई विधिपूर्वक पूजा-आराधना एवं दर्शन गर्नुभएको हो । उहाँले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा-आराधना गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर पुग्नुहुँदा उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलगायतले स्वागत गर्नुभएको थियो । यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिर जानु भई पूजा, आराधना एवं दर्शन गर्नुभएको कोषले जनाएको छ ।

सेना दिवस मनाइयो


संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाएको छ । मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेसन, पृतना, बाहिनी, युनिट तथा सव-युनिटमा आ-आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाइएको हो । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहबीच नेपाली सेनाले महाशिवरात्रि तथा सैनिक दिवस मनाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा सरिक हुनुभयो । राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पणका साथै नेपाली सेनाद्वारा प्रदान गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ ।

समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित वार्षिक पत्रिकाका ‘सिपाही-२०७८’ र ‘ग्लोरियस पास्ट अफ नेपाली आर्मी’ पुस्तक विमोचनका साथै ‘फ्री फल जम्प’मा प्रथम हुने अमल्दार वसन्तकुमार चन्द र द्वितीय हुने सुवेदार किसान पौडेललाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस-२०७८’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो ।

समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । बढाइँ कवाजअन्तर्गत राइफलद्वारा पाटा-पाटा लहरे र एकट्ठा प्रस्तुत गरिएको थियो । सैनिक र नेपाली परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र संगीतको धुन प्रदर्शन गरिएको थियो । त्यसक्रममा स्वस्तिक चिह्न, शिव वन्दना र राष्ट्रभक्ति भावको गीत संगीतसमेत प्रस्तुत भएको थियो ।

सैनिक मञ्चमा मास पिटीका साथैै तेक्वान्दो, खुकुरी ड्रिल प्रस्तुत गरिएको थियो । समारोहमा नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम-मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा उपस्थित हुनुहुन्थ्यो । शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो ।