काठमाडौं:= नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसिसी सम्झौता संसद्बाट अनुमोदन गर्नु स्वाभाविक भएको बताउनुभएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले एमसिसी सम्झौता अनुमोदनका लागि प्रमुख प्रतिपक्षी दल एमालेको पनि स्वीकृति रहेको दाबी गर्नुभयो । एमाले राजनीतिक कारणले मात्रै सहभागी नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सम्झौता अनुमोदनमा विपक्षी दलको पनि स्वीकृति थियो । उहाँहरू राजनीतिक कारणले मात्रै सहभागी हुनुभएन ।’
एमसिसी कम्प्याक्टसँगै यसबारेको व्याख्यात्मक घोषणा केवल कागजको खोस्टो मात्रै नभएको पनि उहाँको भनाइ छ । उहाँले अगाडि भन्नुभयो, ‘व्याख्यात्मक घोषणा कागजको खोस्टो मात्रै हैन । त्यसमा हाम्रो बुझाइ लेखिएको छ । यसमा अमेरिका पनि सहमत छ ।
अब सरकारको ध्यान यसको कार्यान्वयनमा हुनुपर्दछ । यसबाट फैलाइएका भ्रमहरूको निवारण भएको छ ।’ व्याख्यात्मक घोषणा अमेरिकाको सल्लाहमा नबनाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘उहाँहरूले भनेर गरेको होइन । तर, हामीले बुझेका कुरा राख्दा उहाँहरूको बुझाइ पनि त्यही रहेछ ।’
अफवाह भ्रम र द्विविधा चिर्दै संसद्ले एमसिसी सहयोगअन्तर्गत आर्थिक सहायता अनुमोदन गरेको उहाँको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व निर्णय र धीरताले सम्झौता अनुमोदन गर्ने आधार तय भएको उहाँले बताउनुभयो । एमसिसीबारे रहेका बाँकी भ्रम र अफवाह चिर्न कांग्रेस लागिरहने पनि उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नकारात्मक दृष्टिकोण राख्नेलाई पनि विकास परियोजना भएकाले हामीलाई चाहिएको सडक र विद्युत् प्रसारण लाइन बन्छ, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ठेक्का लाग्छ । यसले प्रतिस्पर्धा र पारदर्शिताको हिसाबले नयाँ नजिर स्थापित गर्छ । नेपालको म्यानपावर र रिसोर्स प्रयोगमा नयाँ नजिर स्थापित गर्छ ।’



















