युक्रेनमा रूसी सेनाद्वारा चारैतिरबाट आक्रमण, तर पनि युक्रेन नझुक्ने।

एजेन्सी किभ:= युक्रेन आक्रमणको पाँचौं दिनसम्म रूसी सेनाले देशका सबैतिरबाट आक्रमण जारी राखेको छ । युक्रेनी सेनाले आफ्नो फेसबुक पेजमा पछिल्लो रात सबैभन्दा कठिन समय भएको उल्लेख गरेको छ । रूसको निरन्तर प्रहारका बाबजुद सबै शहर आफ्नो नियन्त्रणमा रहेको युक्रेनी फौजले बताएको छ।

यसैबीच रूसविरुद्ध पश्चिमा देशहरूले लगाएको कडा प्रतिबन्धको असर रूसी मुद्रामा देखा परेको छ । अमेरिकी डलरको तुलनामा रूसी मुद्रा रूबलको मूल्यमा ३० प्रतिशतले गिरावट आएको छ । रूसमा धेरैजसो बैंकबाहिर मानिसहरूको ठूलो लाइन लागेको छ । हृयाकरहरूले रूसी बैंकका कार्डहरू चल्न नसक्ने बनाइदिएपछि मानिसहरू पैसा निकाल्न बैंकमा लाइन लागेका हुन्।

युरोपमा रूसी स्वामित्वका बैंकहरूले काम गर्न छोडेका छन् । रूसको केन्द्रीय बैंकमा लगाइएको प्रतिबन्धका कारण ६३० अर्ब डलर विदेशी मुद्राको ढुकुटी रूसले प्रयोग गर्न पाएको छैन। यसको असर रूबलमा परेको हो । रूसमाथिको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यभने निकै तीव्र रूपमा वृद्धि भएको छ।

यसैबीच युद्धरत युक्रेन र रूसका बीचमा सोमबार भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ । बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रूसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनुपर्ने र रूसी सेना युक्रेनबाट फिर्ता गर्नुपर्ने शर्त राखेको हो।

युक्रेनले दुई शर्त राखेपछि वार्ताले सकारात्मक मोड लिने सम्भावना कम रहेको अधिकारीले जनाएका छन् । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताउनुभएको थियो । उहाँले विश्वास नभए पनि वार्ताका लागि टोली भने पठाएको जानकारी दिनुभएको थियो।

रूसले युक्रेनमाथि आक्रमण गरेको पाँचौं दिनमा वार्ता भएको हो । वार्ता युक्रेनसँगको सीमाक्षेत्रमा पर्ने बेलारुसको एक ठाउँमा भएको हो । रूसले वार्ताका लागि राखेको पहिलो प्रस्तावलाई युक्रेनले अस्वीकार गरेपछि रूसले आक्रमण अझ बढाएको थियो । रूसी सेनाले युक्रेनमा अहिले पनि आक्रमण जारी राखेका छन्।

यता राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी सेनालाई रणनीतिक महत्वका परमाणु अस्त्रहरू विशेष सतर्कतासहित तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ । क्रेम्लिनमा सुरक्षानिकायका प्रमुखसँग गरेको एउटा बैठकमा उहाँले पश्चिमा राष्ट्रहरूले रूसप्रति मित्रतवत् व्यवहार नगरेको टिप्पणी गर्नुभएको थियो । युक्रेनमा आक्रमण गरेपछि पश्चिमा देशहरूले रूसमाथि लगाएको आर्थिक प्रतिबन्धतर्फ इंगित गर्दै पुटिनले त्यसलाई गैरकानुनी बताउनु भएको थियो।