‘मेलम्ची’ को पानी चाडैं आउँछ : खानेपानी मन्त्री उमाकान्त चौधरी।

काठमाडौं := खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको अवधिभित्रै मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा भित्र्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले  प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बाढी र पहिरोका कारण क्षति पुगेको मेलम्ची खानेपानी आवश्यक व्यवस्था मिलाएर  काठमाडौंवासीलाई उपलब्ध गराउन राष्ट्रका नाममै सम्बोधन गरेको भन्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘काठमाडौंवासीले खानेपानीको कुरा उठाइरहेका छन् र भर्खरै नेपाल सरकारले पनि घोषणा गरिसकेको छ । हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राष्ट्रका नाममा सम्बोधन गरिसक्नुभएको छ र कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्ने सरकारको विषय भएकाले मेलम्ची खानेपानी हामी समय अवधिभित्रै काठमाडौंवासीलाई खुवाउँछौँ भनेर तदारूकतासाथ काम अगाडि बढिराखेको छ । त्यसलाई पूरा गर्न हामी प्रतिबद्ध छौँ ।’

मन्त्री चौधरीले खानेपानी महसुल निर्धारण आयोग केही दिनभित्रै गठन गर्ने घोषणासमेत गर्नुभयो । केही वर्षदेखि आयोग रिक्त रहेको भन्दै उहाँले त्यसलाई पूर्णता दिन सरकारले प्रक्रिया अघि बढाइसकेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान र सरकारको दृष्टिकोणले हेर्दा पनि न्यूनतम शुल्कमा आमग्राहकले खानेपानीको सेवा पाऊन् भन्ने मेरो चाहना छ र त्योअनुसार कार्यक्रम बनाएर अघि बढ्नोस् । शुल्क निर्धारण आयोग गठन प्रक्रिया अघि बढाइसकेका छौँ । अबिलम्ब केही दिनमा त्यसले पूर्णता पाउनेछ र शुल्क निर्धारणको पनि काम सुरु हुनेछ ।’