‘द मम-व्युटी कन्टेष्ट’को उपाधि रमाले जितिन्।

काठमाडौं:= आमा भइसकेका महिलालाई लक्षित गरी आयोजना गरिएको मोडलिङसम्बन्धी सौन्दर्य प्रतियोगिता ‘द मम-व्युटी कन्टेष्ट’ सम्पन्न भएको छ । यस प्रतियोगिताको शीर्ष उपाधि रमा खड्का पौडेलले जित्नुभएको छ ।

मोडल सङ्स नेपालले नेपालको आयोजनामा शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा रमाले ताजसँगै विधागततर्फको ‘मष्ट पपुलर’ अवार्डसमेत हात पार्नुभयो । उहाँले उपहारस्वरूप २५ हजार रुपैयाँ र अन्य विभिन्न उपहार पोल्टामा पार्नुभयो । प्रतियोगिताको भोटिङ पार्टनरको रूपमा रहेको ग्लोबल अनलाइन पे को मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा पूर्वसूचना तथा प्रविधि एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव प्रमुख अतिथि हुनुहुन्थ्यो ।

प्रतियोगितामा विधागततर्फ निलिमा बजगाईं उप्रेतीले ‘अडियन्स च्वाइस’ र ‘वेष्ट स्माइल’, ललिता शेर्पा ‘ट्यालेन्ट’, ‘वेष्ट पर्सनालिटी’ र ‘मष्ट फोटोजेनिक’, दिपिका पौडेलले ‘कन्फिडेन्ट’, सिलसिला गुरुङ ‘डिसिप्लिन’, सरस्वती डंगोल महर्जनले ‘इनोसेन्ट’ अवार्ड जित्नुभयो ।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा राजकुमार छेत्री, सोना अमात्य, डा.अर्पन शाह, अभिनेता रमेश उप्रेती, रेजिना तुलाधर, अंकिता श्रेष्ठ निर्णायक हुनुहुन्थ्यो । आयोजक संस्थाका अध्यक्ष डेविल सिंह राजपुतले आमा भइसकेकी नारीको आन्तरिक सौन्दर्यलाई बाहिर ल्याएर आधुनिक समाजका अवसरलाई नेपाली पारामा ‘ब्लेण्ड’ गर्दै लैजाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले आफूलाई नेपालको सबैभन्दा सुन्दर आमा सावित गर्न नेपालभरी छरिएर रहेका आमाहरूलाई चाँडै नै सुरु हुने प्रतियोगिताको दोस्रो संस्करणमा सहभागिता जनाउन आहृवान गर्नुभयो ।

प्रतियोगिताका कोओर्डिनेटर सोमराज बास्तोलाले अन्तिम प्रतिस्पर्धीलाई र्‍याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङलगायत विविध विषयमा दक्ष व्यक्तित्वले प्रशिक्षण प्रदान गरिएको बताउनुभयो । कार्यक्रममा अभिनेता भुवन केसी, कलाकार किरण केसी, हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल शर्मालगायतको उपस्थिति थियो ।