काठमाडौं:= ‘फष्र्ट फ्लाएर्स फिल्म अवार्ड-०७९’ आयोजना हुनेभएको छ । ०७९ को वैशाख २४ गते विराटनगरमा सम्पन्न गरिने अवार्डबारे आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । अवार्डलाई ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइले डिजाइन गरेको छ ।
मोफसलमा समेत नेपाली फिल्मको विकास, विस्तार र उन्नतिको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा आयोजना गर्न लागिएको आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजवंशीले बताउनुभएको छ । कोरियोग्राफरका रूपमा परिचित साइमनले अवार्ड कार्यक्रम निकै भव्य हुने दाबी गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि अभिनेता सरोज खनालले नेपाली फिल्मको विकासमा यो अवार्डले टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । खनालले भन्नुभएको छ, ‘अधिकांश अवार्ड राजधानीमा मात्रै केन्द्रित भइरहेको पाइन्छ । तर फष्र्ट फ्लाएर फिल्म अवार्ड पहिलोचोटी नै मोफसलमा हुन लाग्नु निकै खुशीको कुरा हो । अन्य अवार्डभन्दा यो निश्चय नै विशेष हुने विश्वास मलाई छ ।’
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले विराटनगरमा अवार्ड हुन लागेको सुन्दा आफूलाई खुशी लागेको बताउनुभयो । दीपाश्रीले भन्नुभयो, ‘पहिलो संस्करण नै विराटनगरमा आयोजना हुन लागेको यो अवार्डले नेपाली चलचित्रको मोफसल बजार र कलाकारको मनोबल उच्च बनाउने छ भन्ने आशा मलाई छ ।’
कार्यक्रममा चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले अवार्ड कार्यक्रममा गुणस्तरीय फिल्म निर्माणमा दबाब दिनुका साथै अब्बल कलाकारिताका लागि कलाकारलाई समेत प्रोत्साहित गर्ने धारणा राख्नुभयो ।
चलचित्रसम्बन्धी विभिन्न २१ विधामा अवार्ड प्रदान गरिने समारोहको प्रमुख सल्लाहकारमा अनिशसिंह ठकुरी, कार्यक्रम संयोजकमा अशिमा धुतराज र सञ्जु सापकोटा, व्यवस्थापनमा विमल धमला र कलाकार संयोजनमा आइपी आचार्य हुनुहुन्छ ।
०७६, ०७७ र ०७८ चैतभित्र प्रदर्शन भएका फिल्महरू सहभागी हुने अवार्डको उत्कृष्ट पाँच मनोनयन केही समयपछि सार्वजनिक गरिने बताइएको छ । कार्यक्रममा सञ्चारकर्मी तथा चलचित्र निर्देशक लक्ष्मण सुवेदी, कोरियोग्राफर कविराज गहतराज, नरेशवीर सिंहलगायतको उपस्थिति थियो ।




















