स्पेनिस ला लिगा: रियलले मध्यम टोली रायो भालेकानोलाई १-० गोलले हरायो।

एजेन्सी म्याड्रिड := शीर्ष टोली रियल म्याड्रिडले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले मध्यम टोली रायो भालेकानोलाई उसैको मैदानमा १-० गोलले हरायो ।

रियलको जितमा कप्तान करिम बेन्जेमाले निर्णायक गोल गर्नुभयो । बेन्जेमाले ८३औँ मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाउनुभयो । जारी लिगमा बेन्जेमाको यो १९औँ गोल हो । सर्वाधिक गोलकर्ताको शीर्ष सूचीमा रहनुभएका बेन्जेमाले नौ असिस्ट पनि दिनुभएको छ । दोस्रो स्थानमा रहनुभएका भिनिसियसको नाममा १३ गोल छ ।

प्रतिस्पर्धात्मक खेलको ३९औँ मिनेटमा क्यासमिरोको गोललाई रेफ्रीले भिएआरको सहायतामा अफ साइड दिएपछि रियल दबाबमा रहृयो । ६६ प्रतिशत बल पोसेसनमा राखे पनि रियललाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । रियललाई कडा टक्कर दिएको रायो भालेकानोले गोल फर्काउन भने सकेन । रियलका गोलरक्षक थिअबाउट कोर्टुवा ‘म्यान अफ दी म्याच’ हुनुभयो ।

जितसँगै रियलले शीर्षस्थानमा नौ अंकको अग्रता बनाएको छ । रियलको २६ खेलबाट ६० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको सेभियाको ५१ अंक छ । सेभियाले एक खेल कम खेलेको छ । पराजित रायो भालेकानो ३१ अंकसहित १२औँ स्थानमा छ । अर्को खेलमा एट्लेटिको म्याड्रिडले सेल्टा भिगोलाई २-० गोलले हरायो । घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन दुवै गोल रेनन लोडीले गर्नुभयो । लोडीले ३६औँ र ६०औँ मिनेटमा गोल गर्नुभएको थियो ।

जितसँगै चौथो स्थानमा रहेको एट्लेटिकोले २६ खेलबाट ४५ अंक बनाएको छ । पराजित सेल्टा भिगो ३२ अंकसहित १०औँ स्थानमा छ । अर्को खेलमा १० खेलाडीमा समेटिएको भ्यालेन्सियाले मालोर्कालाई १–० गोलले हरायो । गेटाफे र अलाभेसले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।