शिवरात्रिको तयारी पूरा, पशुपति परिसरमा एक हप्ता मेला लाग्ने।

[ रिता बस्नेत ] 

काठमाडौं:= पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलनमार्फत यस वर्षको महाशिवरात्रि पर्व तयारीका बारेमा औपचारिक जानकारी गराएको छ । कोषले यही फागुन १७ गते मंगलबारको दिन परेको यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिर दर्शन गर्न लाखौँको संख्यामा दर्शनार्थीहरू आउने अनुमान गरेको छ ।

कोषसँगै सुरक्षा निकाय, विभिन्न धार्मिक सामाजिक संघसंस्थाहरू, सेवाप्रदायक सरकारी एवं गैरसरकारी निकायहरू, स्वतःस्फूर्त रूपमा खटिने स्वयंसेवकहरूसहित कोषले दर्शनार्थीहरूलाई सहज र सुरक्षित तरिकाले छिटो छरितो मन्दिर दर्शन गराउने जानकारी गराएको छ ।

त्यसैगरी, कार्यक्रममा कोष सञ्चालक परिषद्का अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको संयोजकत्वमा गठित महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०७८ अन्तर्गत सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, वातावरण सरसफाइ तथा जुत्ताचप्पल व्यवस्था, स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साजसजावट व्यवस्था, स्वयंसेवा परिचालन, मूल्यांकन तथा तथ्यांक संकलन गरी १० वटा उपसमितिहरू गठन गरी पशुपति परिसरका सबै काम तीव्र गतिमा भएको जानकारी गराइयो ।

पशुपति क्षेत्र विकास कोषका नि. उपनिर्देशक/प्रवक्ता एवं प्रचारप्रसार व्यवस्था उपसमितिका सचिव रेवतिरमण अधिकारीले यसवर्ष मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरूलाई कुनै पनि पास(परिचयपत्र)को व्यवस्था नगरिएको जानकारी गराउनुभयो । विभिन्न अति आवश्यक संघ संस्था तथा समिति मिडियाका प्रतिनिधिहरूलाई भने पासको व्यवस्था सेवा, सुविधालगायत कार्य गर्नको लागि दिइएको बताइएको छ ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले भारतबाट साधुसन्तलगायत दर्शनार्थीहरू ५० हजारको हाराहारीमा आउनुहुने अनुमान रहेको बताउनुभयो । उहाँका अनुसार आइतबारसम्म साधुसन्त करिब १५ हजार आइसक्नु भएको छ । साधुसन्तको लागि निःशुल्क भोजन, पानी, चिया, आवासको व्यवस्था मिलाइएको छ । साथै, भारतीय साधुसन्त तथा अन्य दर्शनार्थी आदि कसैलाई पनि कोरोनाको पिसिआर रिपोर्टलाई नहेरिने तर माक्स भने अनिवार्य गरिएको छ ।

कोषका कोषाध्यक्ष एवं प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीले कोभिड-१९ संक्रमणको जोखिम अन्त्य नभइसकेकाले सरकारले निर्धारण गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गरेर दर्शनार्थीहरूलाई मेला भर्न अनुरोध गर्नुभएको छ । यस पर्वलाई व्यवस्थित ढंगले सुसम्पन्न गर्न सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम पूरा भएको छ ।

शिवरात्रिमा नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल, राष्ट्रिय अुनसन्धान विभाग आदिबाट सुरक्षाका जनशक्ति परिचालन गरी पर्वलाई व्यवस्थित गरिने जनाइएको छ । त्यसैगरी, नेपाल स्काउटलगायत गरी करिब पाँच हजारको संख्यामा स्वयंसेवकहरू परिचालन गरिनेछ । करिब ६० वटा स्वास्थ्यसँग सम्बन्धित संस्थाले सेवा प्रदान गर्नेछन् । दर्शनार्थीहरूको लागि जुत्ता चप्पलको एक स्थायी व्यवस्थापनका अतिरिक्त पाँच ठाउँमा जुत्ताचप्पल कक्षको व्यवस्था मिलाइएको छ ।

कार्यक्रममा जनाएअनुसार मन्दिर दर्शनका लागि गुह्येश्वरी-गौरीघाट-उमाकुण्ड-दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ भने मित्रपार्क-जयबागेश्वरी-इँटापाखा भएर भुवनेश्वरी हुँदै पश्चिम ढोकाबाट, बत्तीसपुतली-गौशाला, एयरपोर्ट-तिलगंगा भएर पिंगलास्थान-सुमार्गी भवन हुँदै चार शिवालय-पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट एक/एक लाइन गरी तीन स्थानबाट लाइनहरू रहनेछन् । तीलगंगा राममन्दिरतर्फ समेत आवश्यकताअनुसार एक लाइन हुनेछ । र, नित्य दर्शनार्थीहरूका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ ।

भक्तजनलाई पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि चारै ढोकाबाट व्यवस्था मिलाइएको छ भने विशेष पूजा बिहान र साँझ ६ बजेपछि गरिनेछ । सो दिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाबासीलाई पशुपति क्षेत्रको यात्रामा वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न अनुरोध गर्दै मालवाहक सवारीसाधन, बस, माइक्रोबस तथा ट्याम्पोलगायत सवारीसाधनलाई सिफलचौर, जोरपाटी, चाबहिल र सिनामंगलभन्दा अगाडि सञ्चालनमा रोक लगाइनेछ । कोरोना महामारीको तेस्रो लहर सुरु भएसँगै गत माघ ५ गतेदेखि सर्वसाधारणका लागि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला गरिएको थियो ।