काठमाडौं:= रूस र युक्रेनबीचको द्वन्द्व थप उग्र बन्दै गएको छ । दुई देशबीच जारी युद्ध समाधान उन्मुखभन्दा थप चर्किँदै गएको हो । संघर्षको चौथो दिन आइतबार पनि दुई देशबीचको दोहोरो भिडन्त जारी रह्यो । रुसी सेनाहरू युक्रेनको दोस्रो शहर खार्किभमा प्रवेश गरेका छन् । रूसले आक्रमण गरेको चौथो दिन आइतबार लडाइँ जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारमा जनाइएअनुसार रुसी सेनाका गाडीहरू खार्किभ शहरमा प्रवेश गरेका हुन् ।
रुसी सैनिकहरू युक्रेनको राजधानी किभमा पनि पुगेका छन् । राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ । किभका अधिकांश मुख्य स्थान र चोकहरूमा दुई देशका सेनाबीच आइतबार दिनभर युद्ध जारी रह्यो । शुक्रबार नै किभ पुगेको रुसी सेनाबाट शहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको बिबिसीले उल्लेख गरेको छ । रुसी सेनाले युक्रेनमा रहेका विभिन्न तेल तथा ग्यास खानीमा आक्रमण गरेको छ ।
राजधानी युक्रेनको राजधानी किभबाट ३० किलोमिटरको दूरीमा रहेको वासिलकिभ आयल टर्मिनलमा मिसाइल प्रहार गरी आक्रमण गरेको हो । अन्य क्षतिबारे दुवै देशले आ–आफ्नै दाबी गरेका छन् । दुवै देशले गरेको दाबीको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले भने स्वतन्त्र पुष्टि गरेका छैनन् ।
वार्ता प्रयास असफल
दुई देशबीच जारी तनाव कम गर्ने प्रयास भने असफल भएको छ । रूसले युक्रेनसँग वार्ताका लागि आफ्नो एक प्रतिनिधिमण्डल बेलारुस पुगेको बताएको छ । तर, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको प्रस्ताव अस्वीकार गर्नुभएको छ । उहाँले बेलारुसमा वार्ता हुन नसक्ने बताउनुभएको छ ।
बेलारुसको भूभागबाट युक्रेनमाथि आक्रमण नभएको भए मिन्स्कमा वार्ता सम्भव हुने उहाँको भनाइ छ । ‘त्यो भूभागबाट हामीमाथि आक्रमण नगरिएको भए मिन्स्कमा वार्ता हुन सक्थ्यो,’ बिबिसीका अनुसार उहाँले भन्नुभएको छ, ‘अरू शहरहरूलाई वार्तास्थलका रूपमा प्रयोग गर्न सकिन्छ ।’ उहाँले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार नगरिएका अन्य कुनै पनि शहरमा वार्ता हुनसक्ने बताउनुभयो । बेलारुसमा वार्ताको प्रस्ताव अस्वीकार गरेपछि रूसले युक्रेनमा सबैतिरबाट आक्रमण गर्न सेनालाई फेरि निर्देशन दिएको छ ।
यता, युक्रेनी सेनाले रुसी आक्रमणविरुद्ध नागरिक प्रतिरोध आन्दोलन गर्न सर्वसाधारणहरूलाई अपिल गरेको छ । युक्रेनी सेनाले नागरिकलाई सबै सम्भव उपाय र लडाइँको विधि प्रयोग गर्न आग्रह गरेको हो ।
युक्रेनका राष्ट्रपतिद्वारा युरोपियन युनियनको सदस्यता माग
युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किीले युक्रेनलाई युरोपियन युनियनको सदस्यताको माग गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत युरोपियन युनियनको सदस्यता माग गर्नुभएको हो । उहाँले ट्वीटमा भन्नुभएको छ, ‘अहिले नै सबै कुराको छलफल गर्न सम्भव छैन, हामी निकै अप्ठेरो अवस्थामा छौँ । त्यसैले हामीलाई युरोपियन युनियनको सदस्यता दिइयोस् ।’
जर्मनीले युक्रेनलाई हतियार सहयोग गर्ने
जर्मनीले युक्रेनलाई हतियार उपलब्ध गराउने चान्सलर ओलाफ सोल्सले बताउनुभएको छ । चान्सलर सोल्सले युक्रेनविरुद्धको रुसी हमला एउटा प्रस्थानविन्दु भएको उल्लेख गर्दै जर्मनीले एउटा एन्टिट्यांक अस्त्र र ५०० क्षेप्यास्त्र उपलब्ध गराउने जानकारी दिनुभएको हो ।
जर्मनीले द्वन्द्व प्रभावित क्षेत्रमा आफ्नो देशमा निर्मित अस्त्र पठाउन लगाइएका कतिपय रोक पनि हटाएको छ । यसै हप्ताको सुरुमा रुसी साइबर हमलासँग प्रतिरक्षा गर्न मद्दत गर्ने प्रतिबद्धता जनाएको अष्ट्रेलियाले सैनिक सामग्री र स्वास्थ्य उपकरण पनि उपलब्ध गराउने जनाएको छ । (एजेन्सीको सहयोगमा)




















