सडक निर्माणको २४ वर्ष : कालोपत्रे गर्न ठेकेदारको आनाकानी।

[ डम्मर बुढा मगर ] 

बागलुङ:= मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ-घोँडाबाँधे सडकको ट्र्याक खुलेको २४ वर्ष पुग्यो । सबैभन्दा लामो खण्ड बागलुङमा रहेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको जिल्ला सदरमुकाम खण्ड अझै कालोपत्रे हुन सकेको छैन । दुई वर्षमा कालोपत्रे गर्ने काम निर्माण व्यवसायीले ६ वर्षमा समेत सकिएको छैन ।

सडक कालोपत्रे हुन नसक्दा बिहुँका स्थानीयले निर्माण व्यवसायीविरुद्ध चरणबद्ध आन्दोलनसमेत गर्दै आएका छन् । गत असारपछि रोकिएको मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरमा पुन काम थालिएको छ।

गत असोजमा बागलुङ घोडाबाँधे सडकखण्डअन्र्तगत बिहुँमा दुई किलोमिटर सडक कालोपत्रे गरेर काम छाडेको निर्माण कम्पनीले फागुनबाट काम थालेको छ । अहिले जिल्ला सदरमुकामको खहरे, मुलपानी क्षेत्रमा बेस बिच्छाउने कार्य भइरहेको छ भने उपल्लो खण्डको बिहुँमा कालोपत्रेका लागि ग्राभेल बिच्छाउने कार्य भइरहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख इञ्जिनियर नारायणदत्त भण्डारीका अनुसार असारपछि निर्माण व्यवसायिलाई निरन्तरको ताकेता पछि निर्माण कम्पनीले निर्माणलाई तिब्रता दिन थालेको बताउनुभयो । ‘अहिले घोडाबाँधे देखि बागलुङ बजारसम्मको सडकमा कालोपत्रे गर्नु अघिका कामहरू भइरहेको छ, सववेश विच्छाउने, ग्याविन भर्ने र कल्र्भट बनाउने काम तल्लो खण्डमा भइरहेको छ,’ भण्डारीले भन्नुभयो ‘उपल्लो खण्डमा भने अधिकांश सडक ग्राभेल भइरहेको छ, निर्माणको काम लगभग सकिएको छ, असार अघि कालोपत्रे सक्ने गरी आयोजना खटिएको छ ।’

मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्लाचौर-अक्षेते-बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए । तर निर्माण सुरु भएको छ वर्षसम्म कामको ६० प्रतिशत मात्रै सम्पन्न भएको छ ।

बिहुँ खण्डमा चार किलोमिटर सडक एकपटक कालोपत्रे गरिएको, फेरि डबल गर्ने तयारी, छ किलोमिटर सडकमा बेस बिच्छाइसकेको २ किलोमिटर सडकमा पूर्वाधारको काम भइरहेको बिहुँ घोडाबाँधे सडकको १२ किलोमिटर सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीका प्रतिनिधि रामकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘सुरुमा कच्चा पदार्थ नै भएन, त्यसपछि कोरोना महामारी, अहिले कालोपत्रे गर्न मौसमले दिएको छैन अन्य पूर्वाधारको काम भइरहेको छ, सके चैत्रसम्म नसके असारसम्म कालोपत्रे गरेरै छोड्छौँ’ श्रेष्ठले भन्नुभयो ‘अहिले कामलाई तीव्रता दिइएका छौं, केही परिणाम आउने गरी क्रसर उद्योग निरन्तर चलिरहेको छ ।’

यस्तै, मूलपानी बोक्सेसम्म ग्राभेलको काम भइरहेको र खहरेमा वेश बिच्छाउने काम भइरहेको छ । चार महिनादेखि ठप्प भएको उपल्लाचौर अक्षेते सडक खण्डमा अहिले काम भइरहेको सडक निर्माणको जिम्मा पाएको निर्माणको जिम्मा पाएको भारत÷सिद्धिसाई कम्पनीले जनाएको छ । कुल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । जसमध्ये बागलुङमा २५ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी भएको छ ।

बागलुङको लाइफलाइनसँग जोडिएको मध्यपहाडी राजमार्ग जिल्लाको दुर्गम सथान निसीखोला, ढोरपाटन, गलकोट र बडिगाडमा कालोपत्रे भइसकेको छ । तर, जिल्ला सदरमुकामसँग जोडिएको लोकमार्गको २५ किमी सडकखण्ड कालोपत्रे नहुँदा सरोकारवाला निकायहरूलाई समेत चुनौती बन्दै आइरहेको छ ।