एमसिसी खारेजीको माग गर्दै प्रदर्शन चर्कियो,दजनौँ पार्टी कार्यकर्ता र प्रहरी घाइते।

काठमाडौं:= अमेरिकी सहयोग परियोजना (एमसिसी)को विपक्षमा पछिल्लो समय दिनहुँ विरोध-प्रदर्शनहरू भइरहेका छन् । एमसिसी अनुमोदन गर्न अमेरिकाले ‘डेटलाइन’ दिएसँगै विरोध प्रदर्शन चर्किएको हो । सत्तादेखि प्रतिपक्षी र संसद्बाहिर रहेका दल र तिनका भ्रातृ संगठनहरू एमसिसीविरुद्ध दिनहुँ सडकमा निस्किन थालेका छन् । यो क्रम पछिल्लो समय बाक्लिएको छ । विरोध चर्किएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल भएको थियो । एमसिसी संसद्मा पेश गर्न जसले सहमति जनाए तिनै दलका भ्रातृ संगठनविरुद्ध आन्दोलन चर्काइरहेका छन् । आइतबार एमसिसी प्रतिनिधिसभामा टेबल हुनुअघि र पछि दिनभरजसो काठमाडौंमा चर्को विरोध प्रदर्शन भयो ।

सत्तारूढ माओवादी केन्द्र र एकीकृत समाजवादीका युवा, विद्यार्थी र एमसिसीको विरोधमा रहेका राजनीतिक संगठनहरूले विरोध प्रदर्शन गरिरहेका छन् । यसमा संसद्इतरका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितको ६ दलीय मोर्चा पनि सामेल छ । सँगै राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरूले साथ दिइरहेका थिए ।

पटक–पटक प्रहरी र प्रदर्शनकारी आमने–सामने भए । बिहानैदेखि विरोधमा निस्किएकाहरू संसद्मा एमसिसी टेबल भएको खबर पाएसँगै तातिए । प्रदर्शन उग्र बन्यो । उग्र यति कि प्रहरीलाई नियन्त्रणमा लिन हम्मेहम्मे प¥यो । प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरे । केही प्रहरी घाइते भए । उसो त घाइते प्रहरीमात्र होइनन् प्रदर्शनकारी पनि भए । केहीलाई प्रहरीले नियन्त्रणमा लियो । निषेधित क्षेत्र तोड्न खोजे। प्रहरीले बल प्रयोग गर्‍यो । पानीका फोहोरो प्रहार गर्नेदेखि प्लाष्टिकका गोलीसम्म चलाउनुपर्ने स्थिति आयो ।

प्रहरीले तोकेको निषेधित क्षेत्र पनि नाघेर प्रहरीमाथि प्रदर्शनकारी जाइलागेपछि प्रहरीले रबरको गोली चलाएको थियो । निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि इँटा, ढुंगाले प्रहार गरेपछि प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोली चलाएको हो । प्रहरीले अश्रुग्यास र पानीको फोहोराले हान्दा पनि प्रदर्शन नघटेपछि रबरको गोली चलाएको थियो । आन्दोलनले उग्ररूप लिएपछि प्रहरीले नियन्त्रणका लागि प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गर्नुपरेको जनाएको छ ।

प्रहरी-प्रदर्शनकारीको झडपले नयाँ बानेश्वर चोकदेखि बिजुली बजार पुल क्षेत्रसम्मको अवस्था तनावग्रस्त बन्यो । काठमाडौंमा विरोधमा उत्रिनेको संख्या बढेपछि केही दिनयता उक्त क्षेत्रमा प्रहरी परिचालन पनि बाक्लो बनाइएको छ ।

सर्वसाधारणलाई सास्ती 

एमसिसीविरुद्धको प्रदर्शनका कारण आइतबार दिनभर काठमाडौंका केही क्षेत्र तनावग्रस्त बने । विशेषगरी माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्र त रणमैदान नै बन्यो । प्रदर्शनकारी र प्रहरीको घम्साघम्सीले काठमाडौंको सवारी अस्तव्यस्त बन्यो । नयाँ बानेश्वर क्षेत्रलाई लक्षित गरी भइरहेको विरोध प्रदर्शन साम्य पार्न प्रहरीले बल प्रयोग गरेपछि काठमाडौं उपत्यकाको सवारी अस्तव्यस्त बन्न पुगेको हो ।

रत्नपार्कदेखि नयाँ बानेश्वर हुँदै कोटेश्वर जाने गाडीलाई ट्राफिक प्रहरीले थापाथली, त्रिपुरेश्वरबाटै डाइभर्ट गरेको थियो । त्रिपुरेश्वरबाट फेरि थापाथली हुँदै कोटेश्वर आउने गाडी पनि कुपण्डोल पठाउँदा नयाँ बानेश्वर भएर यात्रा गर्ने यात्रु मारमा परे । यता, तीनकुनेदेखि बानेश्वर र बानेश्वर हुँदै मातीघर रत्नपार्क जाने यात्रुले पनि सास्ती खेप्नुपर्‍यो । नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि ट्राफिक जाम बढ्यो भने एक ठाउबाट अर्को ठाउँ जाने यात्रु अलपत्र परे । कतिपयले हिँडेरै लामो दूरीको यात्रा तय गरेका थिए ।