१८ अर्बभन्दा बढीको सेयर कारोबार।

काठमाडौं := साताभर सेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार साताको सुरुमा २८०१.५६ अंकबाट सुरु नेप्से साताको अन्तिम कारोबार दिन २७३२.५१ अंकमा पुगेर बन्द भएको थियो । गत साता पनि सेयर बजार ७५ अंकले घटेको थियो ।

यस साताको पहिलो दिन आइतबार नेप्से सय अंकले घटेको थियो भने ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५.६२ अंकले घटेर ५११.६७ अंकमा झरेको थियो । सो दिन पाँच अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबार भने नेप्से स्थिर रहेको थियो । ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३६ अंकले घटेर ५११.३० अंकमा झरेको थियो भने तीन अर्ब ६८ करोड चार लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

मंगलबार भने २७ सय अंकबाट सुरु भएको नेप्से २७५४.२८ अंकमा पुगेर  बन्द भएको थियो । ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.८३ अंकले बढेर ५२२.१३ अंकमा पुगेको थियो भने तीन अर्ब २३ करोड ३३ लाख बराबरको कारोबार भएको थियो । बुधबार २७५४.२८ अंकबाट सुरु नेप्से २७३४.४४ अंकमा झरेको थियो भने ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.४७ अंकले घटेर ५१८.६६ अंकमा झरेको थियो ।

सो दिन तीन अर्ब २६ करोड तीन लाख बराबरको सेयर कारोबार भएको थियो । साताको अन्तिम दिन बिहीबार पनि नेप्से १.९४ अंकले घटेको थियो भने दुई अर्ब रुपैयाँको कारोबार भएको थियो । साताभर करिब १८ अर्ब ४१ करोडको सेयर कारोबार भएको छ । गत साता २४ अर्ब ४४ करोड ६२ लाख रुपैयाँको कारोबार भएको थियो । सेयर घट्दा लगानीकर्ताले एक सातामा करिब ८९ अर्ब ३५ करोड रुपैयाँ गुमाएका छन् ।