काठमाडौं:= सरकारले कोरोना भाइरसको तेस्रो लहर नेपालमा पनि फैलिन थालेपछि माघ ३ गतेबाट सिनेमा हल बन्द गर्ने घोषणा गरेको थियो । सोहि अनुरूप नेपाल भरिका सिनेमा हल बन्द भए । त्योभन्दा अघि प्रदर्शन भइरहेका नेपालीसँगै विदेशी चलचित्रको पनि प्रदर्शन रोकियो ।
यसैबीच पुस १६ गतेबाट प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘कठपुतली’को पनि प्रदर्शन रोकिएको थियो । सरकारले अब फागुन १ गतेबाट फेरि सिनेमा हल खोल्ने निर्णय गरेको छ । योसँगै चलचित्रका निर्माताहरू प्रदर्शन मिति रोकिरहेका छन् । ‘कठपुतली’ले पनि आफ्नो प्रदर्शनीलाई निरन्तरता दिने भएको छ । तेस्रो हप्तामा प्रदर्शन भइरहँदा हल बन्द भएपछि प्रदर्शन रोकिएको र अझै पनि चलचित्रमा दर्शक आउने आशाका साथमा निर्माण टिम प्रदर्शनलाई निरन्तरता दिने बताएको छ ।
हल खुलेसँगै अन्य नेपाली चलचित्रसँगै विदेशी चलचित्र पनि प्रदर्शन हुने निश्चित छ । त्यसैले ‘कठपुतली’मा मात्रै दर्शक ओइरेलान् भन्न नसकेपछि यो चलचित्रको ‘माउथ पब्लिसिटी’ राम्रो भएकाले केही दर्शक भने पक्कै आउने अनुमान गर्न सकिन्छ । रिलिजको पहिलो हप्ता देशभरका मल्टिप्लेक्सहरू र सिंगल थिएटरमा उत्साहपूर्ण व्यापार गरेको ‘कठपुतली’ले दोस्रो हप्तामा पनि सुखद् व्यापार गरेको थियो । अधिकांश हलहरूमा सफल प्रदर्शन भइरहेको समयमै रिलिज रोकिएको कारण पुनः रिलिज गर्न लागिएको वितरक कम्पनी डिसिएनका अशोक शर्माले बताउनुभएको छ ।
‘माउथ पब्लिसिटी’ बलियो रहेकाले अझै पनि यो चलचित्र हेर्न हलसम्म दर्शक आउने अपेक्षा निर्माण पक्षले गरेको छ । ‘कठपुतली हेर्न चाहेका र रिलिजको तेस्रो हप्तासम्म हेर्ने समय मिलाउन नसकेका, जसले हलमै चलचित्र हेर्न चाहन्छन्, ती दर्शकका लागि हामीले रिलिजलाई निरन्तरता दिने निर्णय गरेका हौं’, निर्माता पृथ्वी रानामगरले बताउनु भएको छ ।
तेस्रो हप्तामा पनि ‘कठपुतली’ले क्युएफएक्स चेन, एफक्युब सिनेमाज्, बिएसआर सिनेमाज्, वान् सिनेमाज्, सिटिसी सिनेमाज, क्यूज सिनेमाज्, आइएनआइ सिनेमाज्, कीर्तिपुर सिनेमाज्लगायत मल्टिप्लेक्सहरूमा राम्रो शो पाइरहेको थियो । अघिल्ला दुई हप्ता हलमा दर्शकको अकुपेन्सी सुखद् रहेकाले मल्टिप्लेक्सहरूले तेस्रो सातामा पनि चलचित्रको शो यथावत् राखेका थिए । दर्शकहरूबाट चलचित्र ‘डार्क’ भयो भन्ने प्रतिक्रिया आएपछि निर्माण टिमले यसको समाधान गरेको थियो ।
यसैबीच, निर्माण टिमले दर्शकलाई अगाडि सारेको आकर्षक उपहार योजना दर्शकलाई ‘आइफोन १२’ दिने निर्णयलाई पुनः निरन्तरता दिइने भएको छ । यो योजनालाई थप आकर्षक बनाउन ‘आइप्याड’ पनि प्रदान गरिने गरी थप गरिएको छ । यसअघि चलचित्र चल्दाचल्दै हल बन्द भएपछि रिलिजको केही समयपछाडि ‘आइफोन १२’ दिने समय पनि थप गरिएको थियो । चलचित्र हेर्नका लागि काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्नेहरूमध्ये गोला प्रथाबाट एक–एकजनालाई एप्पल कम्पनीको ‘आइफोन १२’र ‘आइप्याड’ प्रदान गरिने बताइएको छ ।
यो योजनामा सहभागी हुन दर्शकले केही नियम पालना गर्नुपर्ने हुन्छ । एक टिकट एकजनाको लागि मात्र मान्य हुनेछ, टिकट नम्बरको आधारमा मान्यता जाँच हुनेछ । नेपालभर जुनसुकै हलबाट काटिएको टिकटसँग सेल्फी फोटो खिचेर सबैले देख्नेगरी अर्थात् ‘पब्लिक पोष्ट’ कुनै पनि सोसल मिडियामा राख्नुपर्ने हुन्छ । त्यसरी फोटो राख्दा ‘क्याप्सन’मा हृयास ट्याग गरेर चलचित्रको नाम र अर्को हृयास ट्यागमा विनआइफोन लेख्नुपर्ने हुन्छ । हृयासट्याग प्रयोग गरी फोटो पोष्टको सुचना फिल्म टिमले प्राप्त गर्नेछ । प्रत्यक्ष रूपमा ‘लक्की ड्र’ गरी विजेता घोषणा गरी उपहार दिइने बताइएको छ ।
पृथ्वी राना प्रडक्शनको निर्माणमा तयार भएको ‘कठपुतली’का निर्देशक भीमसेन लामा हुन् । चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइरालालगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको कथा सम्पदा मल्लले लेख्नुभएको हो । जोएल फ्रुमले खिच्नुभएको चलचित्रका निर्माता पृथ्वी रानामगर हुनुहुन्छ भने सह निर्माताहरूमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा हुनुहुन्छ ।




















