[ ध्रुवकुमार शर्मा ]
म्याग्दी:= पछिल्लो समय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बेनी नगरपालिका-१, रत्नेचौरको तोरीबारीको थामिनसक्नु भिड भाइरल भयो । म्याग्दी, बागलुङ र पर्वतसहित गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट रत्नेचौरमा पहेँलपुर फुलेको तोरीबारीमा पुगेर तस्बिर खिचाउने र टिकटक बनाउनेको ताँती नै लाग्यो ।
तोरीबारीमा घुम्न गएका धेरैजसो युवतीहरू फाँटमा पहेँलपुर तोरीबारीमा मखमली चोलो र पोलिस्टरका गुन्यु, पटुका, गरगहना, बाला, कानमा माडवारी, तिलहरी, औंठी, चुराजस्ता जनजातिको संस्कृति र भेषभुषा झल्किने पोशाकमा समेत सजिए ।
रत्नेचौरको फाँटमा सयौं तन्नेरी पुगेर दैनिक तोरीबारीलाई फेसबुक, टिकटक, इन्स्टाग्राममा कैदमात्रै गरेनन्, रत्नेचौर महिला बचत तथा ऋण सहकारीले जनजातिको पोशाक भाडामा दिएर एक महिनामै करिब ६० हजार आम्दानी गरेको छ ।
सहकारीले आफ्नो सहकारीको साधारणसभा तथा समुदायस्तरमा आयोजना हुने कार्यक्रमलाई लक्षित गरी ३० हजारमा १० सेट खरिद गरेको सहकारीकी सचिव सुलोचना केसीले बताउनुभयो । ‘तोरीबारीले मगर समुदायको भेषभुषाको पनि प्रचारप्रसार भयो, शुल्कलाई जातीय पोशाक प्रवद्र्धनमै खर्च गछौँ,’ केसीले भन्नुभयो ।
रत्नेचौरका महिलालाई आर्थिक, सामाजिक तथा आयआर्जनको क्षेत्रमा समेत सहयोग गर्ने गरेको सहकारीले तोरीबारीमा पोशाक प्रयोग गर्ने स्थानीयलाई एक सय र बाहिरबाट आउनेलाई दुई सय रुपैयाँ लिने गरेको छ ।
केहीले आफूसँगै भएको भेषभुषासमेत लिएर गएका थिए । सहकारीकी अध्यक्ष सुनिता बोगटीले आगामी वर्ष क्षेत्रीसहित अन्य जातजातिको भेषभुषासमेत सहकारीमार्फत् उपलब्ध गराउने योजना रहेको बताउनुभयो । ‘घुम्न आउनेहरूबाट रत्नेचौरको प्रचारप्रसार भएको छ, हामी निकै उत्साहित छौँ,’ बोगटीले भन्नुभयो ।
कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण तोरीबारीमा धेरै भिडभाड बढेको हुँदा जिल्ला प्रशासन कार्यालय म्याग्दीले प्रवेशमा रोक लगाएको थियो । यतिबेला फाटफुट घुम्न जानेहरूले समेत पोशाक प्रयोग गर्ने गरेका छन् ।
म्याग्दी मगर समुदायको सांस्कृतिकरूपमा निकै धनी छ । यहाँ धर्म, संस्कृति र चाडपर्वहरूबाहेक सार्वजनिक कार्यक्रमहरूमा समेत मगर भेषभुषाको प्रयोग गर्ने गरिन्छ । मगर समुदायको गीत र नृत्यमा सोरठी, घाटु नाच, झ्याउरे, मारुनी नाचको छुट्टै महत्व छ ।




















