[ गोपीकृष्ण चापागाईं ]
काठमाडौं := कोरोनाको कहरका कारण नेपालमा पनि विगत दुई वर्षदेखि राम्रोसँग नेपाली चलचित्र सिनेमा हलमा लाग्न सकेका छैनन् । यसैबीच नेपाली चलचित्र क्षेत्रका युवास्टार अनमोल केसी पनि कोरोना कहर साम्य हुने समयको पर्खाइमा हुनुहुन्छ । अनमोल अभिनित ‘ए मेरो हजुर ४’ निर्माण भएर बसेको छ । अब सहज समय मिलाएर यो चलचित्र प्रदर्शन हुने तयारीमा छ । यद्यपि यो चलचित्र आउँदो नयाँ वर्षको पहिलो दिनबाट प्रदर्शन हुने भनिएको छ । सरकारले फेरि सिनेमा हल बन्द गर्ने निर्णय नगरेमा उक्त मितिमा प्रदर्शन गरिने तयारी गरिएको छ ।
नायक अनमोल केसीलाई पछिल्लो समय चलचित्र नगरीमा कुन उपाधि दिने भन्ने विषयमै बहस चलिरहेको छ । चलचित्रकर्मीहरूबीच नै अनमोललाई सुपरस्टार, युवास्टार अथवा मेगास्टार यीमध्ये सम्मानको कुन उपाधि दिने भन्ने विषयमा टिकाटिप्पणी चलिरहन्छ । नेपालमा कुनै पनि कलाकारलाई सरकारी तबरबाट उपाधि दिने गरिएको छैन । चलचित्र क्षेत्रका पुराना अभिनेता राजेश हमाललाई पनि ‘महानायक’ को ट्याग एक प्राइभेट संस्थाले दिएपछि आमदर्शकले त्यो उपाधिलाई समर्थन जनाएका छन् । लामो समयदेखि दर्शकबाटै पनि हमाललाई महानायक भन्न थालिएको छ ।
यस्तै अनमोल केसीलाई पनि केही समयअघि एक कार्यक्रममा सञ्चारकर्मी नरेश भट्टराईले मेगास्टार अनमोल केसी भनेर सम्बोधन गर्नुभयो । त्यसयता कतिपय चलचित्रकर्मीले अनमोललाई मेगास्टारका रूपमा समर्थन जनाउँदै आउनु पनि भएको छ । चलचित्र ‘ए मेरो हजुर ३’ मा निर्देशक झरना थापाले मेगास्टार भनेरै लेख्नुभएको थियो ।
यसैबीच अहिले प्रदर्शन हुने तयारीमा रहेको अनमोलको ‘ए मेरो हजुर ४’ मा मेगास्टार भनेर लेखिएको छैन । यसै विषयलाई लिएर उक्त चलचित्रको गीत रिलिज कार्यक्रममा सञ्चारकर्मीले प्रश्न गर्छन् । ‘ए मेरो हजुर ३’ मा दिएको उपाधि अहिले दिनुभएनछ नि ‘ए मेरो हजुर ४’ मा मेगास्टार किन राख्नुभएन ?,’ निर्देशक झरना थापा भन्नुहुन्छ, ‘एकपटक दिइसकेको उपाधि बारबार दिइरहनुपर्छ जस्तो लाग्दैन । हामीले मेगास्टार भनिसकेका छौँ । त्यसैले अनमोल मेगास्टार नै हो, हो, हो नै । राजेश हमाललाई पनि एकपटक महानायक भनिएको थियो । उहाँलाई बारबार महानायक भनेर सबै चलचित्रमा लेखिएको त छैन नि हैन र ?’
निर्देशक झरनाले ए मेरो हजुर टिमले एकपटक दिइसकेको सम्मान सधैँका लागि रहने बताउनुभयो । यस्तै नायक अनमोलले आफूलाई मन पराउनेहरूले दिएको सम्मानले खुसी रहेको बताउनुभयो । ‘मैले पहिलेदेखि नै भनेको छु मलाई मन पराउने अडियन्सले माया गरेर मेगास्टार भनिदिनुभए हुन्छ । मलाई कतै नाम लेखेरै सम्मान गर्नुपर्छ भन्ने लाग्दैन,’ अनमोलले भन्नुभयो, ‘नत्र मलाई अभिनय गर्ने अभिनेता भनेर चिनिदिएकोमा नै खुसी छु ।’
शीर्ष गीत रिलिज
‘ए मेरो हजुर ४’ मा समावेश ‘फूलको थुंगा हौ कि’ बोलको गीतमा अनमोल र नायिका सुहाना थापाको अभिनय रहेको छ । स्वर्गीय शिव रेग्मी निर्देशित चलचित्र ‘ए मेरो हजुर’ को गीतको हुक लाइन ‘फूलको थुंगा हौ कि’ लाई मिश्रण गरेर अहिलेको गीतमा राखिएको छ । उक्त गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । रवि मल्लको शब्द रचना रहेको गीतमा कल्याण सिंहले संगीत भर्नुभएको छ ।
गीतको भिडियो नेपालको पर्यटकीय गन्तव्य शे–फोक्सुन्डोमा खिचिएको छ । सञ्जय लामाको छायांकन प्रशंसायोग्य छ । शे-फोक्सुन्डोमा छायांकन भएको ‘ए मेरो हजुर ४’ पहिलो चलचित्र हो । शुक्रबार राजधानीमा आयोजित गीत रिलिज कार्यक्रममा झरना थापाले आफूले ‘ए मेरो हजुर’ को सिक्वेलमा साधारण लभस्टोरीलाई साधारण तरिकाले पस्किने गरेको बताउनुभयो । उहाँले अब चलचित्र ‘भागवत गीता’ बनाएपछि मात्र ‘ए मेरो हजुर ५’ निर्माण गर्ने पनि जानकारी दिनुभयो ।
मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व रहेको चलचित्रको कथा झरना थापा र स्वर्गीय छेतन गुरुङले लेख्नुभएको हो । पटकथा र संवादमा उहाँहरूलाई मन्दिप गौतम, प्रतीक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाउनुभएको छ ।
वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्नुभएको हो ।
२० वर्षपछिको फूलको थुंगा
स्वर्गीय शिव रेग्मीले २० वर्षअघि निर्देशन गरेको सुपरहिट चलचित्र हो ‘ए मेरो हजुर’ । जुन चलचित्रमा स्व. श्रीकृष्ण श्रेष्ठ र झरना थापाको मुख्य अभिनय रहेको थियो । उक्त चलचित्रको नामलाई नै लिएर झरनाले आफंैले चलचित्र निर्देशन गर्दै आउनुभएको छ । उक्त चलचित्रमा पनि झरनाका श्रीमान निर्माता सुनिलकुमार थापाकै लगानी थियो ।
उक्त चलचित्रमा समावेश ‘फूलको थुंगा’ बोलको गीत निकै सुपरहिट भएको थियो । अहिले पनि उक्त गीत आमदर्शक तथा श्रोताले गुनगुनाउने गरेको पाइन्छ । त्यसै गीतको हुकलाइन ‘फूलको थुंगा’ लिएर गीत सार्वजनिक गरिएको हो । आफैंमा सुपरहिट गीतको हुकलाइनमा बनेको गीतमा आफूले अभिनय गर्न पाउँदा खुसी लागेको नायक अनमोलले बताउनुभयो । उहाँले त्यो समयमा आफू सानो रहेको र होस्टेलमा समय बिताएको सम्झिनुभएको थियो । साथै अहिले उक्त गीत गाउनुभएका गायक सुगम पोखरेलले गीत सुपरहिट हुनेमा ढुक्क रहेको बताउनुभएको छ । सुगमले भन्नुभयो, ‘मैले रेकर्ड गर्ने समयमै भनेको थिएँ, शत प्रतिशत यो गीत सुपरहिट हुन्छ ।’




















