काठमाडौं:= नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत १६ वटा जिल्लामा रोकिएको जिल्ला अधिवेशन फागुन १३ गते सम्पन्न गर्ने भएको छ । नेपाली कांगे्रस केन्द्रीय कार्य सम्पादन समितिको शुक्रबार बसेको बैठकले बाँकि जिल्लाहरूको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले एक विज्ञप्ति जारी गर्दै १६ जिल्लामा रोकिएको जिल्ला अधिवेशन आगामी फागुन १३ गते सम्पन्न गर्ने निर्णय भएको जनाउनुभएको हो ।
नेपाली कांग्रेसले मधेश प्रदेशका आठवटै जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) मा जिल्ला अधिवेशन गरेको छैन । यस्तै, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा पनि कांग्रेसको जिल्ला अधिवेशन हुन सकेको छैन । यसअघि यी जिल्लामा माघ १५ गते जिल्ला अधिवेशन गर्ने गरी मिति निर्धारण गरिएको थियो । तर, कोरोना भाइरसको संक्रमण बढेपछि स्थगित गरिएको थियो ।
यस्तै, १६ जिल्लाअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भएमा सोही दिन सम्बन्धित क्षेत्रको प्रतिनिधिमध्येबाट महासमिति सदस्यको निर्वाचनसमेत सम्पन्न गर्ने जनाइएको छ । मधेश प्रदेशको रौतहटमा महोत्तरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र सो क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको निर्वाचन फागुन १० गतेभित्रै सम्पन्न गर्ने पनि निर्वाचन समितिले जनाएको छ ।
बिहीबारबाट सुरु भएको कांग्रेसको बैठक मूलतः स्थानीय तहको निर्वाचनबारेको छलफलमा केन्द्रित रहेको नेता अर्जुननरसिंह केसीले बताउनुभयो । उहाँले पार्टीको भातृ तथा शुभेच्छुक संस्थाहरूलाई गतिशील बनाउने गरी अघि बढन आफूले पार्टी नेतृत्वलाई सुझाव दिएको पनि जानकारी दिनुभयो । बैठकमा नेताहरूबीच एमसिसी संसदबाट पारित गरेर जानुपर्छ भन्ने विषयमा एकमत रहेको नेपाली कांग्रेसले जनाएको छ ।




















