[ डिबी शर्मा ]
काठमाडौं:= नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमणदर घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो समय कोरोना संक्रमणदर ओरालो लाग्न थालेको हो । माघ दोस्रो साता १२ हजार आसपासमा रहेको दैनिक संक्रमित हुनेको संख्या हाल दुई हजार तल झरेको छ ।
शुक्रबार १७ हजार ४४७ पिसिआर परीक्षण गर्दा एक हजार १२८ जनामा कोरोना पुष्टि भएको हो । जबकि माघ ११ गते १२ हजार आठजना संक्रमित थपिएका थिए । संक्रमण दर घट्दै गए पनि मृत्यु हुनेको संख्या भने घटेको छैन । बरु बढेको देखिन्छ ।
पछिल्लो समय दैनिक १० जनाभन्दा बढीको ज्यान गइरहेको छ । शुक्रबार पनि १४ जना संक्रमितको ज्यान गयो । जबकि माघ ११ गते आठजनाको ज्यान गएको थियो । संक्रमणदर उच्च भएका बेला मृत्यु हुनेको संख्या भने कम थियो । यसले संक्रमण घटे पनि जोखिम कायमै रहेको देखाउँछ ।
एक हजार १२८ जना संक्रमित थपिए, १४ जनाको मृत्यु
शुक्रबार थप एक हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १७ हजार ४४७ पिसिआर परीक्षणका क्रममा ६६६ जना र तीन हजार ५४२ एन्टिजेन परीक्षणका क्रममा ४६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । पछिल्लो समयसम्म नेपालमा ११ हजार ८ सय ७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै, शुक्रबार दुई हजार २१५ संक्रमित संक्रमणमुक्त भएका छन् । शुक्रबार सबैभन्दा धेरै काठमाडौंमा २०३ संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकाका अन्य जिल्लाहरू ललितपुर र भक्तपुरमा क्रमशः ४५ र १७ संक्रमित थप भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ११ लाख नाघेको छ । शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजारमुनि झरेको छ ।
पछिल्लो समय देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना छ । शुक्रबार भेन्टिलेटरमा रहनेको संख्या ३२ र आइसियुमा २२५ रहेको छ । होम आइसोलेसनमा २७ हजार ९३०, संस्थागत आइसोलेसनमा एक हजार ७४ र क्वारेन्टिनमा १३३ जना छन् ।
फागुन १ गतेदेखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज खोप दिइने
कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पुगेका १८ वर्ष माथिका सबै नागरिकलाई सरकारले बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले फागुन १ गतेदेखि सबै नागरिकलाई बुस्टर डोज दिने निर्णय भएको जानकारी दिनुभयो ।
मन्त्री खतिवडाले खोपको पहुँच नपुगेको स्थान र समुदायको पहिचान गरी प्रदेश र स्थानीय सरकारको नेतृत्वमा खोप अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । त्यस्तै, उहाँले खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र स्थानीय तहबाट उपलब्ध गराउन सुरु गरिएको बताउनुभयो ।
यसअघि बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने निर्णय भएको सूचना सार्वजनिक गरेको थियो । बुस्टरको रूपमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोर्डना वा फाइजर खोप दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य सुरु गरिएको जानकारी दिनुभयो । विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा, हाल सबै गर्भवती महिलाहरूलाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भइसकेको बताउनुभयो । २०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाइलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भइसकेको र २०७९ वैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको उहाँले बताउनुभयो ।
मन्त्री खतिवडाले पछिल्लो समयसम्म चार करोड ६५ लाख ७० हजार ७२० खोप प्राप्त भइसकेको र तीन करोड ४८ लाख २५ हजार ६०१ मात्रा खोप लगाएको जानकारी दिनुभयो । आवश्यक खोपको मौज्दात सुनिश्चित गरिएको उहाँले बताउनुभयो ।
खोपको २४ लाख मात्रा हराएको छैन
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको दाबी गर्नुभएको छ । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले खोप हराएको नभई तथ्यांक नआएको दाबी गर्नुभयो ।
‘खोपको २४ लाख मात्रा हराएको होइन, हामीले खोप लगाउनका लागि प्रदेश, जिल्ला, स्थानीय तह हुँदै टोलटोलमा स्वास्थ्यकर्मी खटाएका थियौँ,’ उहाँले भन्नुभयो, ‘टोलटोलमा गएर लगाएको तथ्यांक नआएको मात्र हो ।’ उहाँले खोप लगाउँदा केही मात्रा खेर गएकाले पनि तथ्यांक नमिलेको बताउनुभयो ।
‘एउटा डब्बामा रहेको खोपको १० मध्ये आठ मात्रा लगाइयो र बाँकी दुई मात्रा खोप त्यही दिन लगाइएन भने त्यो खेर जान्छ,’ उहाँले भन्नुभयो, ‘त्यसरी पनि खोपको मात्रा खेर गइरहेको छ ।’ हराएको खोपको सम्बन्धमा मन्त्रालयले प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको र चाँडै नै हराएको खोपका बारेमा जानकारी दिने मन्त्री खतिवडाको भनाइ थियो ।




















