काठमाडौं := नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयतामा सुधार आएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको फेब्रुअरीको वरीयतामा नेपालको दुई स्थान सुधार गरेको हो । अघिल्लो महिना १६९औँ स्थानमा रहेको नेपाल पछिल्लो वरीयतामा १६७औँ स्थानमा पुगेको छ ।
यसै महिना अफ्रिकी टोली मौरिससविरुद्ध दुई खेल जितेको नेपालको वरीयता सुधार भएको हो । माघ १५ र १८ गते भएका दुई मैत्रीपूर्ण खेलमा नेपालले जित हात पारेको थियो । पहिलो खेलमा विमल घर्तीमगरको गोल र दोस्रो खेलमा सुजल श्रेष्ठको गोलबाट नेपालले जित हात पारेको थियो ।
सार्वजनिक वरीयताअनुसार दक्षिण एसियामा भारतको वरीयता सबैभन्दा माथि छ । भारत १०४औँ स्थानमा हुँदा यस क्षेत्रका माल्दिभ्स १५७औँ, भुटान १८५औँ, बंगलादेश १८६औँ, पाकिस्तान १९७औँ र श्रीलंका २०४औँ स्थानमा छन् ।
विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा रहेको छ । वरीयतामा ब्राजिल दोस्रो र फ्रान्स तेस्रो स्थान, अर्जेन्टिना चौथो, इग्ल्यान्ड पाँचौँ, इटाली छैटौँ, स्पेन सातौँ, पोर्चुगल आठौँ, डेनमार्क नवौँ र नेदरल्यान्ड्स दसौँ स्थानमा छन् ।
मच्छिन्द्र र ब्लुस्टारबीचको खेल नेपालमा
एएफसी कप छनोटअन्तर्गत नेपालको मच्छिन्द्र फुटबल क्लब र ब्लुस्टारबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । पहिलोपटक एएफसी कप खेल्ने अवसर पाएको मच्छिन्द्रले श्रीलंकाको ब्लुस्टारसँग आगामी चैत २२ गते खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाका अनुसार उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।
एन्फाको नियमानुसार शहीद स्मारक ‘ए’ डिभिजन लिगको सातौँ चरणसम्म अंकतालिकाको शीर्ष स्थानमा रहने टोलीले एएफसी कप छनोटमा सहभागिता जनाउन पाउनेछ । यसअनुसार मच्छिन्द्र एएफसी कपमा छनोट भएको हो । मच्छिन्द्रले पहिलो खेलमा ब्लुस्टारलाई पराजित गरेमा दोस्रो चरणमा भारतको एटीके मोहन बगानसँग खेल्नेछ । उक्त खेल चैत १२ गते हुनेछ ।
मच्छिन्द्रले एएफसी कपको समूह चरणमा स्थान बनाउन यी दुई चरणका खेलसहित प्लेअफको अन्तिम खेल पनि जित्नुपर्नेछ । प्लेअफमा जित हात पार्ने टोलीले एएफसी कपको समूह ‘डी’ मा स्थान पाउनेछ । समूह ‘डी’ भारतको गोकुलम केरला, बंगलादेशको वसुन्धरा किंग्स, माल्दिभ्सको माजिया र प्लेअफ विजेताबीच प्रतिस्पर्धा हुनेछ ।




















