न्यूयोर्क:= मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) परिवर्तन भएको छ । संयुक्त राज्य अमेरिकाको माथिल्लो सदन ‘युएस सेनेट’ले एमसिसीको नयाँ सीईओमा एलिस अल्ब्राइटलाई नियुक्त गरेको हो ।
यसअघि गएको अगष्ट ६ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले १० फरक फरक पदमा नियुक्तिका लागि १० जनाको मनोनयन गर्नुभएको थियो । त्यतिबेलै बाइडेनले एलिस अल्ब्राइटलाई एमसिसीको प्रमुख कार्यकारीको रूपमा नियुक्तिका लागि मनोनयन गर्नुभएको थियो ।
एमसिसीले आफ्नो आधिकारिक वक्तव्यमा जनाएअनुसार सिनेटमा भएको मतदानमा सर्वसम्मतिले अल्ब्राइटलाई नियुक्त गर्ने निर्णय भएको हो । एमसिसी अमेरिकी सरकारको स्वतन्त्र संस्था हो, जसले विश्वको गरिबी न्यूनीकरणमा सहयोग गर्न निश्चित अवधि र शर्त तोकेर आर्थिक अनुदान र सहायता प्रदान गर्दै आएको छ ।




















