महिलालाई करणी गरेको आरोपमा सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता।

नेपालगञ्ज:= प्रतिनिधिसभा सदस्य मोहन बानियाँविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । पूर्व–मन्त्रीसमेत रहेका बानियाँमाथि जुम्लाकी एक शिक्षिकामाथि बलात्कार गरेको आरोप लागेको हो । सरकारी विद्यालयकी प्रधानाध्यापकसमेत रहेकी महिलाले बानियाँविरुद्ध बलात्कारको मुद्दा दर्ता गर्नुभएको हो ।

मुगुबाट नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद तथा खत्याड गाउँपालिका-३ का ५७ वर्षीया मोहन बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पीडित महिलाले सांसद बानियाँविरुद्ध यसअघि माघ १९ गते जाहेरी दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मधुसूदन न्यौपानेले सांसद बानियाँको बलात्कार मुद्दा दर्ता नं ३७२ रहेको जानकारी दिनुभयो ।

नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । यसअघि बहालवाला सांसद भएकोले मुद्दा दर्ता प्रक्रिया पुर्‍याउनुपर्ने भन्दै मुद्दा दर्ता गर्न आनाकानी गरिरहेको थियो । ‘सांसद विरुद्धको मुद्दा दर्ता भइसक्यो । अब अनुसन्धान अघि बढ्छ । पक्राउ पुर्जीको लागि अदालतलाई पत्रचार गर्छौं । सभामुखसँग पनि बुझ्छौँ’, उहाँले भन्नुभयो । जाहेरी दिएको चार दिनपछि मुद्दा दर्ता भएको छ ।

मुद्दा दर्ता नभएको बारे चौतर्फी दबाब सिर्जना भएपछि जिप्रका बाँकेले मुद्दा दर्ता गरेको थियो । पीडित महिलाले सांसद बानियाँलाई तत्काल निलम्बन गरेर अनुसन्धान कार्य अघि बढाउनका लागि माग गर्नुभएको छ । उहाँले माघ महिनाको १९ गते बिहान ५ बजे बाँके नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित अप्सरा होटलको कोठा नम्बर २१५ मा बलात्कार गरेको जनाउनुभएको छ ।

सांसद बानियाँले २०७६ मंसिर ८ मा सामूहिक रूपमा व्यापार गर्ने भन्दै पीडित महिलाबाट २५ लाख रुपैयाँ लिनुभएकोे जाहेरीमा उल्लेख गरिएको हो । त्यो रकम फिर्ता गर्नको लागि पटक–पटक पीडित महिलासँग छलफल तथा भेटघाट गर्नुभएको थियो । यस्तै, जाहेरीमा माघ १८ गते आफू सुर्खेतमा रहेको बेला पैसा दिने भन्दै नेपालगञ्ज बोलाएको बताउनुभयो । उहाँहरू अप्सरा होटलको २१५ नम्बर कोठा बस्नुभएको थियो।

‘मैले घर जान्छु । भोलि बिहान रुपैयाँ ल्याइदिनु भनेँ तर अबेरसम्म रकम आउने भन्दै होटलमै बस्न दबाब दिए । म रुपैयाँ आउने आसैआसमा होटलमा बसेँ । बिहान ५ बजे सांसद बानियाँले ढोका ढकढकाएर रुपैयाँ आइसकेकोले लिन आग्रह गर्दै ढोका खोल्न लगाए’, पीडित महिलाले भन्नुभयो, ‘ढोका खोल्नेबित्तिकै उनले जबरजस्तीकरण गर्न खोजे ।

मैले अस्वीकार गरँे । करणी गर्न नदिए यही कोठामै मारिदिन्छु भनेर धम्की दिए । म होटलबाट बाहिर निस्कँदा करणी गरेको कुरा कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएका थिए । म माथि परेको अन्याय सहन नसकेर म जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिन पुगेँ’, पीडित महिलाले भन्नुभयो । उनीहरूबीच लामो समयदेखि चिनजान रहेको बुझिएको छ ।