भारतलाई एक खेलअगावै शृंखला।

एजेन्सी (अहमदाबाद):= घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय क्रिकेट शृंखला एक खेलअगावै जितेको छ । तीन खेलको शृंखलामा २–० को अग्रता लिँदै भारतले शृंखलामाथि कब्जा जमाएको हो ।

बुधबार राति सम्पन्न दोस्रो ओडिआई खेलमा भारतले वेस्ट इन्डिजलाई ४४ रनले पराजित गर्दै शृंखला आफ्नो पक्षमा पारेको हो । यसअघि भएको ओडिआई भारतले ६ विकेटले जितेको थियो । २३८ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४६ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रनमा समेटियो ।

वेस्ट इन्डिजका शम्राह ब्रुक्सले ६४ बलमा २ चौका र २ छक्कासहित ४४ रन बनाए पनि अन्य ब्याट्सम्यानले उहाँलाई साथ दिन सक्नुभएन । स्पिनर अकिल हुसेनले ५३ बलमा ३ चौकासहित ३४ रन जोड्नुभयो । ओपनर शाई होप २७, कप्तान निकोलस पुरन ९, ब्रेन्डन किंग १८, ड्यारेन ब्राभो १, जेसन होल्डर २, फबिएन एलेन १३ र ओडेन स्मिथ २० रनमा आउट हुनुभएको थियो ।

भारतका प्रसिद्ध कृष्णले ९ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर ४ विकेट लिनुभयो । यस्तै शार्दुल ठाकुरले २, मोहम्मद शिराज, युजभेन्द्र चहल, वासिन्टन सुन्दर र दीपक हुडाले १–१ विकेट लिनुभयो ।

त्यसअघि अहमदाबादमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३७ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले ८३ बलमा ५ चौकासहित सर्वाधिक ६४ रन बनाउनुभयो । यस्तै लोकेश राहुलले ४८ बलमा ४ चौका र २ छक्कासहित ४९ रनमा रन थप्नुभयो ।

विराट कोहली र ऋषभ पन्त एकै ओभरमा १८–१८ रनमा आउट हुनुभएको थियो । ओपनिङ गर्नुभएका पन्तले ३४ बलमा ३ चौका प्रहार गर्नुभयो । विराटले ३० बलमा ३ चौका प्रहार गर्नुभयो । त्यसबाहेक भारतका लागि तल्लोक्रमका वासिन्टन सुन्दरले २४ तथा दीपक हुडाले २९ थप्नुभयो ।

वेस्ट इन्डिजका ओडेन स्मिथले ७ ओभरमा २९ रन खर्चेर २ विकेट लिनुभयो । अर्का तीव्र गतिका बलर अल्जारी जोसेफले १० ओभरमा ३६ रन खर्चेर २ विकेट लिनुभयो । अब तेस्रो तथा अन्तिम ओडिआई खेल शुक्रबार हुनेछ ।