नेपालमा दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो, ८५ रुपैयाँमा किनेर ११४ रुपैयाँमा बिक्री।

काठमाडौं:= सरकारले दूधको उपभोक्ता मूल्य बढाएको छ । दुग्ध विकास संस्थान (डिडिसी) ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ वृद्धि गरी ८५ रुपैयाँ कायम गरेको छ । नयाँ मूल्यअनुसार अब डिडिसीको उत्पादन स्ट्यान्डर्ड दूध निलो प्याकेट (आधा लिटर) को उपभोक्ता मूल्य ४२ रुपैयाँ ५० पैसा कायम भएको छ । निजी डेरी उद्योगले पनि सोही मूल्य कायम गर्नेछन् । डिडिसीले बिहीबार पत्रकार सम्मेलन गरी शुक्रबारदेखि नयाँ मूल्यअनुसार दूधको बिक्रीवितरण हुने जनाएको छ । डिडिसीले प्रतिलिटर दूधको मूल्य ८० रुपैयाँदेखि एक सय १४ रुपैयाँसम्म कायम गरेको हो ।

डिडिसीले विभिन्न चार प्रकारका दूध उत्पादन गर्दै आएकाले मूल्य पनि फरक–फरक कायम गरेको छ । तीन प्रतिशत फ्याट भएको निलो प्याकेटको मूल्य ४२ रुपैयाँ ५० पैसा, पाँच प्रतिशत फ्याट भएको फुल क्रिम हरियो प्याकेटको ५७ रुपैयाँ, साढे तीन प्रतिशत फ्याट भएको गाईको दूध पहेंलो प्याटेको मूल्य ५१ रुपैयाँ र डेढ प्रतिशत फ्याट भएको टि मिल्कको मूल्य ४० रुपैयाँ कायम गरिएको डिडिसीले जनाएको छ । यसअघि उल्लेखित प्याकेट दूधको मूल्य क्रमशः ३८, ५०, ४५ र ३५ रुपैयाँ रहेको थियो ।

त्यसो त डिडिसीले काठमाडौंबाहिर भने स्ट्यान्डर्ड निलो प्याकेट दूधको मूल्य ३९ रुपैयाँ ५० पैसादेखि ४० रुपैयाँ ५० पैसामात्रै कायम गरेको छ । दुग्धजन्य पदार्थको मूल्य भने डिडिसीले पहिल्यै बढाइसकेको छ । मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर छ रुपैयाँ ५२ पैसा वृद्धि गरी ५६ रुपैयाँ चार पैसा निर्धारण गरेको थियो भने उपभोक्ता मूल्य निर्धारणको जिम्मा डिडिसीलाई नै दिएको थियो । यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा थियो ।

वृद्धि भएको नौ रुपैयाँमा प्रतिलिटर छ रुपैयाँ ५२ पैसा किसान र प्रतिलिटर दुई रुपैयाँ ४८ पैसा उद्योगीले पाउनेछन् । तर, उद्योगीले प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्नुपर्ने माग गर्दै आएका थिए । १० रुपैयाँमध्ये सात रुपैयाँ किसानको हुने र तीन रुपैयाँ उद्योगीले पाउनुपर्ने उनीहरूको प्रस्ताव थियो । राष्ट्रिय दुग्ध विकास बोर्डले पनि सोही प्रस्ताव गरेको थियो । दूधको मूल्यबारे बोर्डको अध्ययनले प्रतिलिटर दूध उत्पादन गर्न औसत ४५ रुपैयाँ ३७ पैसादेखि ६७ रुपैयाँ सात पैसा खर्च हुने देखाएको छ ।

दूध उत्पादनको प्रतिलिटर औसत दाना खर्च २५ रुपैयाँ सात पैसा रहेको छ । सबभन्दा बढी प्रतिलिटर दानामा खर्च गर्ने जिल्ला बाँकेमा ३३ रुपैयाँ ८९ पैसा र काभ्रेमा २० रुपैयाँ ३३ पैसा रहेको छ । त्यस्तै सप्तरीमा २० रुपैयाँ ९६ पैसा, इलाममा २१ रुपैयाँ १५ पैसा, चितवनमा २३ रुपैयाँ २१ पैसा, कैलालीमा २४ रुपैयाँ ५९ पैसा, रूपन्देहीमा २४ रुपैयाँ ६० पैसा, मोरङमा २५ रुपैयाँ, सर्लाहीमा २६ रुपैयाँ ४४ पैसा, कास्कीमा ३१ रुपैयाँ र सुर्खेतमा ३३ रुपैयाँ ८९ पैसा दानामा खर्च हुने गरेको छ ।

सरकारले कृषकको दूध उत्पादन लागतमा भएको वृद्धि, दुग्ध उद्योगको ढुवानी, प्रशोधन खर्चमा भएको वृद्धि आदि कारण समय-समयमा कच्चा दूधको खरिद मूल्य र बिक्री मूल्यमा वृद्धि गर्ने गरेको छ । पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको अत्यधिक वृद्धि, मुद्रास्फीति, प्रशासनिक व्ययभारमा वृद्धिले प्रशोधित दूधको बिक्री मूल्यमा समयानुकूल समायोजन गर्नुपर्ने बाध्यता रहेको डिडिसीको भनाइ छ । तथापि पछिल्लो मूल्यवृद्धिले पनि डेरी उद्योगी र किसान भने खुसी छैनन् । सरकारलाई किसान, उद्योगी र उपभोक्ताको चित्त बुझाउनुपर्ने चुनौती छ ।