काठमाडौं := डेढ दशकअघि गायिका अञ्जु पन्तको स्वरमा सार्वजनिक भएको ‘न बिर्सेँ तिमीलाई…’ गीत अहिले नवगायिका रचना रिमालले गाएपछि आएका विभिन्न टीकाटिप्पणीपछि उक्त गीतको भिडियोमा अञ्जु पन्तको पनि नाम राखिएको छ ।
योसँगै गायिका अञ्जुले गीतकार विपिन किरणसहित ‘न बिर्सेँ तिमीलाई…’ टिमलाई धन्यवाद दिनुभएको छ । हालै रिलिज भर्सनमा आफूलाई पनि क्रेडिट दिइएपछि उहाँले धन्यवाद भन्नुभएको हो ।
अञ्जुले लेख्नुभएको छ, ‘न बिर्सेँ तिमीलाई… गजलका गजलकार विपिन किरणलगायत टिमलाई धेरै धन्यवाद । मानिसबाट कहिलेकाहीँ जान अञ्जानमा भुल हुन्छ, यस्तै भुलबाट नै सुधार गर्दै र सिक्दै जाने हो, हामी सबैले’, अञ्जु लेख्छिन्, ‘विपिन भाइसँगको बातचितपछि सम्पूर्ण श्रोता–दर्शकको माया र भावनाको कदर गर्दै नयाँ भर्सनमा यस गजलका ओरिजिनल सिंगरको नाम र लिंकसमेत राख्नुभएको छ, यो तपाईंको कदम प्रशंसनीय छ । भविष्यमा हामी सबै मिलेर नेपाली गीत-संगीतको उन्नतिका लागि हातेमालो गर्नुपर्छ र गर्ने नै छौं । फेरि पनि रचना (रिमाल) नानुलाई धेरै माया र आर्शीवाद ।’
केही दिनअघि सार्वजनिक गरिएको गायिका रचनाको स्वरमा रहेको उक्त गीतको भिडियोमा कतै पनि ओरिजिनल गीतका गायक र गायिकालाई क्रेडिट दिइएको थिएन । गीतकार किरणले उक्त गीत रचनाको आवाजमा रि–रेकर्ड गराउने विषयमा अञ्जुसँग छलफल भएको बताउनुभएको थियो । तर किरणको दाबी खण्डन गर्दै अञ्जुले छलफल भएको तर आफ्नै आवाजमा रि–रेकर्डिङ गराउने कुरा भएको बताएपछि यसमा अनेक टीकाटिप्पणी भएको थियो ।
अञ्जुको उक्त भनाइपछि नयाँ भर्सनमा ओरिजिनल गीतका गायक-गायिकाको नाम समावेश हुनुपर्ने दबाब बढेको थियो । त्यसपछि गीतकार किरणले रचनाको भर्सनमा ओरिजिनल भर्सनका गायक–गायिकाको नाम समावेश गर्दै पुरानो गीतको लिंक पनि शेयर गर्नुभएको छ । ०६४ मा ‘किरण’ एल्बममा समावेश यो गजलमा गायिका पन्त र गायक जगदीश समालले आवाज भर्नुभएको थियो ।




















