लामाको दुई दशकपछिको मौलिक लोकगीत।

काठमाडौं:= वरिष्ठ लोकगायक जयनन्द लामाले दुई दशक लामो अन्तरालपछि मौलिक लोकगीत गाएर सार्वजनिक गर्नुभएको छ । लामाले महाभार लेकको जंगलमा याला बोलको लोकगीत हालै आफ्नै युट्यबमार्फत सार्वजनिक गर्नुभएको हो ।

गायक लामाकै शब्द र संगीत रहेको लोक गीत उहाँका साथमा दीपा लामाले गाउनु भएको छ । बाबु जिम्बा, आरबी लामा, दाबा फिन्जो तामाङ, शशिकला मोक्तान र अञ्जु थोकरले जयनन्द र दीपालाई समूह गायनमा साथ दिनुभएको छ ।

लोकगीतमा संगीत संयोजन छेवाङ तेन्जिङ लामा र मिक्सिङ कारसाङ लामाको रहेको छ । ल्होसारको अवसर पारेर सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा इन्द्र गुरुङले निर्देशन गर्नुभएको छ ।

भिडियोमा गायक स्वयं जयनन्द लामाका साथमा डोमा हृयोल्मो, दाब फिन्जो तामाङ, बाबु जिम्बा, श्याम माया गुरुङ, सकु तामाङ र कोरस कलाकारले नृत्य गर्नुभएको छ । सुरेन्द्र थिङको निर्माणमा बनेको म्युजिक भिडियोको छायांकन मरुभूमि नारायण र सम्पादन बाबु जिम्बाले गर्नुभएको छ ।

‘यो मैले ३०÷४० वर्षअघि नै संकलन गरेको गीत हो । जो पहाडी र हिमाली शृंखलाको बीचमा बस्ने सम्पूर्ण नेपालीको पुरानो र मौलिक परम्परागत गीत हो’, गीतका बारेमा जानकारी दिँदै गायक लामाले भन्नुभयो, ‘यो कुनै जात विशेषको गीत नभई ती भेकमा हरेक चाड पर्वमा पुर्खादेखि अहिलेसम्म नाच्दै गाइने गीत हो ।

लगानीकर्ताको अभावमा त्यतिखेर संकलन गरेको गीत अहिले आएर पार्टनर खोजेर र आफैँले पनि लगानी गरेर गाएको हुँ । यसरी संकलन गरेका विभिन्न भेकका मौकिल र परम्परागत गीत मसँग अरू पनि छन्, जो दैनिक रेकर्ड गरेर बाँचुञ्जेल गाएर सकिन्नँ । पाँच दशकअघि गायन यात्रा सुरु गर्नुभएका लामाले लोक गीत, दोहोरी गीत, गीति नाटक गरी दुई सय बढी गीत गाइसक्नुभएको छ ।