काठमाडौं:= साताको दोस्रो दिन दोहोरो अंकले बढेको सेयर बजार मंगलबार फेरि ओरालो लागेको छ । सो दिन नेप्से १६.३० अंकले घटेर २८३५.५८ अंकमा झरेर बन्द भएको छ । कुल दुई सय ३० कम्पनीका एक करोड २० लाख ५३ हजार सात सय ५१ कित्ता सेयर छ अर्ब २८ करोड ७२ लाख १७ हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । सोमबारभन्दा एक अर्ब २६ करोडले कारोबार रकम बढेको हो। कारोबारमा आएका १३ समूहगत सूचकमध्ये व्यापार, होटल, निर्जीवन बिमा, उत्पादन र म्युचुअल फन्डबाहेक सबैको सेयर मूल्य घटेको छ । जलविद्युत् र लगानी समान १.५४ प्रतिशतका दरले घटेको बजारमा विकास बैंक र जीवन बिमा पनि एक प्रतिशतभन्दा बढी अंकले ओरालो लागेको छ ।
कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा बढी छ लाख ११ हजार सात सय ५५ कित्ता सेयर ३५ करोड ८५ लाख १२ हजार चार सय ३३ रुपैयाँमा कारोबार भएका छन् भने अपि पावर ३३.०२ करोड, निफ्रा ३२.३३ करोड, अपर तामाकोशी ३२.०८ करोड, एचआइडिसिएल ३०.१२ करोड, नेसनल हाइड्रोपावर २१.१४ करोड, नेपाल इन्स्योरेन्स १६.०१ करोड, नेपाल टेलिकम १३.४४ करोड, अरुण काबेली पावर ११.३४ करोड र सानिमा माई हाइड्रोपावरको १०.७९ करोडको कारोबार भएको छ ।
एभरेस्ट इन्स्योरेन्स संस्थापक सेयरको मूल्य सर्वाधिक ६.१५ प्रतिशतले बढेको भने छ भने नेपाल इन्स्योरेन्स र बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य तीन प्रतिशतभन्दा बढीले बढेको छ ।लिवर्टी इनर्जी कम्पनीको सेयरमूल्य भने ६.२७ प्रतिशतले घटेर तीन सय ८९ रुपैयाँमा झरेको छ ।
त्यस्तै नेपाल हाइड्रो डेभलपर, बोटलर्स नेपाल तराई, युनिभर्सल पावर, तेह्रथुम पावर र अपर तामाकोशीको सेयरमूल्य पनि घटेको छ । स्थानीय तहको निर्वाचनको घोषणा र अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) विवादका कारण सेयर बजार प्रभावित भएको बताइएको छ ।




















