काठमाडौं:= ‘गीता’ छोएर कहिल्यै पार्टी नफुटाउने कसम खानुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । पार्टी परित्यागसँगै थापाले नयाँ पार्टी खोल्ने धारणसमेत व्यक्त गर्नुभएको छ ।
थापाले २०७६ फागुन २८ गते राप्रपा एकीकरण घोषणा कार्यक्रममा खल्तीबाट सानो गीता निकालेर भन्नुभएको थियो ‘म गीतालाई कसम खाएर भन्दैछु कि म कहिल्यै पार्टी फुटाउनेछैन ।’ थापाले गीता छुँदै कहिल्यै पार्टी नफुटाउने भनेर खाएको कसम दुई वर्ष पनि टिकेन। अन्ततः उहाँले अलग बाटो रोज्नुभएको छ ।
गत मंसिरमा सम्पन्न एकताको महाधिवेशनमा अध्यक्षमा पराजित थापाले पार्टी परित्याग गर्नुभएको हो । अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित हुनुभएका थापाले पूर्वराजा र निर्मल निवासको हस्तक्षेपका कारण आफू पराजित हुनुपरेको जिकिर गर्दै आउनुभएको थियो ।
महाधिवेशनयता पार्टीका कुनै पनि बैठक तथा कार्यक्रममा सहभागी नहुनुभएका थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दुईपटक पत्र लेखेर महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग राख्नुभएको थियो ।
पूर्वराजा र निर्मल निवासको हस्तक्षेपको छानबिन गरी भत्र्सना गर्नुपर्ने र भविष्यमा हस्तक्षेप नहुने सुनिश्चितता गर्नुपर्ने पूर्वअध्यक्ष थापाको मुख्य माग थियो ।
सुरुमा पूर्वअध्यक्ष थापाको मागबारे छलफल गर्न अस्वीकार गर्नुभएका अध्यक्ष लिङ्देनले शनिबार भने थापालाई भेटेर छलफल गर्नुभएको थियो । छलफलपछि लिङ्देनले निवर्तमान अध्यक्ष थापाले उठाउँदै आएको मागबारे छलफल भइरहेको र छिट्टै निकास निस्कनेसमेत दाबी गर्नुभएको थियो ।
तर, थापा स्थानीय तह निर्वाचनको मिति घोषणाअघि नै माग सम्बोधन हुनुपर्ने अडानमा हुनुहुन्थ्यो । सोमबार मात्रै आफ्नो पक्षका नेताहरूको भेला गरेर गृहनगर हेटौँडा पुग्नुभएका पूर्वअध्यक्ष थापाले स्थानीय तह निर्वाचन घोषणा भएको भोलिपल्ट मंगलबार पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो।
पार्टी परित्यागको घोषणा गर्दै पूर्वअध्यक्ष थापाले भन्नुभयो, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखापर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए तापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ । राप्रपामा रहँदा पार्टीका साथी सहयोगी र शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति म सदैव आभारी रहनेछु ।
पार्टीमा रहँदा बिताएका क्षणहरूप्रति म सदैव गौरव गरिरहने छु । राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन सबैको भलो होस् भन्ने कामना गर्दछु ।’ हेटौँडामा पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले भन्नुभयो, ‘पार्टीसँग ३१ वर्ष लामो सम्बन्ध आजबाट टुट्न गएको छ, म राप्रपाबाट अलग भएको छु । पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग हुनुपरेको हो ।’
राप्रपा परित्यागसँगै थापाले सक्रिय राजतन्त्रको एजेण्डा पनि छोडेको घोषणा गर्नुभएको छ । विगतदेखि राप्रपाले उठाउँदै आएको राजतन्त्रको एजेण्डाका तर्कहरू कमजोर भएको जिकिर थापाको छ । उहाँले पार्टीको आन्तरिक विषयमा राजा, राजाको सचिवालय र निर्मल निवासबाट भएको हस्तक्षेपले राप्रपाले उठाएको राजतन्त्रको नैतिक धरातल कमजोर भएको दाबी गर्नुभएको छ । ‘राप्रपालाई कमजोर बनाउने काम राजाबाट नै भयो ।
यसको फाइदा कसलाई भयो त ? हिजो हामीले शून्यबाट सुरु गरेको पार्टी आज यो स्थानसम्म ल्याएका थियौँ । यसका लागि कैयौँ कार्यकर्ताको रगत पसिना बग्यो । हामी सक्रिय राजतन्त्रको पक्षमा छैनौँ । हामी कैयौँ ठाउँमा बायस पनि भयौँ कारण थियो राजतन्त्रको एजेण्डा । पार्टी नेतृत्वमा जसले जिते पनि राजतन्त्रको एजेण्डा त एउटै थियो अनि किन बारम्बार राजाबाट पार्टीमा हस्तक्षेप हुने ?’ पूर्वअध्यक्ष थापाको टिप्पणी थियो ।




















