काठमाडौं:= गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिको कार्यसम्पादन प्रभावित गर्ने किसिमका गतिविधि नगर्न/नगराउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिका सम्बन्धमा देखापरेका असन्तुष्टि र उठेका सवालमाथि छानबिनसहित सत्यतथ्य पत्ता लगाई समस्या सम्बोधन गर्न ८१औँ आइसिसीको बैठकले उच्चस्तरीय समिति गठन गरेको जानकारी गराउँदै सोही समिति मातहतको तीनसदस्यीय स्वतन्त्र उपसमितिले समस्या समाधानका लागि सुझाएका सुझावसहितको अध्ययन प्रतिवेदन ४ फेब्रुअरीमा उच्चस्तरीय समितिमा पठाएको मंगलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
तर, सो प्रतिवेदनमाथि उच्चस्तरीय समितिमा छलफलअघि नै विभिन्न अनलाइन सञ्चारमाध्यममार्फत् बाहिरिएको भन्दै असन्तुष्टि प्रकट गरेको छ । संवेदनशील विषय छलफलअघि नै बाहिरिएको र त्यसमाथि अनावश्यक टीकाटिप्पणी भइरहेको भन्दै समितिले आपत्ति जनाएको छ ।
साथै अब उप्रान्त एनआरएनएको गोपनीयता भंग हुने गरी वा उच्चस्तरीय समितिको कार्यसम्पादन प्रभावित गर्ने गरी कुनै पनि किसिमका गतिविधि नगर्न÷नगराउन सम्बन्धित पक्षलाई सचेत पनि गराएको छ । त्यस्ता गलत मनशाय प्रेरित गतिविधिमा संलग्न नभई निष्पक्ष र पारदर्शीरूपमा समस्या समाधान गर्न आ–आफ्नो स्थानबाट समितिलार्ई सहयोग गर्न पनि उच्चस्तरीय समितिको सचिवालयले आग्रह गरेको छ ।




















