काठमाडौं:= झण्डै डेढ दशकअघि नेपाली सांगीतिक बजारमा यत्रतत्र भएको गीत ‘नबिर्से तिमीलाई नपाएँ तिमीलाई’को रिमेक भर्सन पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालले गाउनुभयो । लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा सार्वजनिक दशकअघिको गीत अहिले पनि उत्तिकै हिट छ तर गीतकार विपिन किरणले रचना रिमालको स्वरमा सार्वजनिक गरेसँगै सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी चलिरहेका छन् ।
सांगीतिक क्षेत्रकै केही सर्जकले भने एकजनाले गाइसकेको गीत फेरि अर्को व्यक्तिलाई गाउन दिन नहुने तर्क रोखेको पाइन्छ भने कतिको सर्वाधिकार भएको व्यक्तिले गर्न मिल्ने भन्दै गलत नभएको तर्क छ । विपिन किरणको शब्द तथा महेश खड्काको संगीतमा तयार भएको उक्त गजल गीत मेल भर्सन गायक जगदीश समालले पनि गाइसक्नुभएको छ । जुन भर्सन पनि लोकप्रिय छ ।
उक्त गीतको सर्वाधिकार गीतकार विपिन किरणसँग छ । उहाँले भने कुनै समय स्थापित आफ्नो सिर्जना नयाँ गायिकाको स्वरमा सुन्ने श्रोता-दर्शकको अनुरोधसँगै आफ्नो सोचअनुरूप रचना रिमालको स्वरमा पुनः रेकर्ड गरिएको बताउनु भएको छ । रचनाले स्वर दिएको गीत पुरानै एरेन्जमा सार्वजनिक गरिएको र लगत्तै नयाँ एरेन्जका साथ अञ्जु पन्तकै स्वरमा पनि यो गीत ल्याउने तयारी रहेको किरणले बताउनुभएको छ ।
यसैबीच नेपाली सांगितीक बजारमा झण्डै १५ सय गीतमा स्वर दिनुभएकी पछिल्लो समयकी लोकप्रिय गायिका प्रविशा अधिकारीले रचना रिमालको स्वरमा गीत आउनु गलत नभएको तर रिमेक गर्दा सुरुमा गाउनेको क्रेडिट दिनुपर्ने तर्क राख्नुभएको छ । प्रविशाले अञ्जु पन्तले जत्तिको न्याय उक्त गीतमा अन्य गायिकाले दिन नसक्ने तर रचनाले पनि राम्रो गाएको बताउनुभयो । ‘गीतलाई के गर्ने नगर्ने भन्ने त कपिराइट भएको व्यक्तिमा भर पर्छ । गाउन हुने नहुने कुरामा त न्याय दिएर गाएको छ भने गाउन नहुने भन्ने कुरा छैन’, प्रविशाले हिमालय टाइम्ससँग भन्नुभयो, ‘अञ्जु पन्त दिदीका लागि मेरो पनि अहिले शिर झुक्छ, दिदीको लेभरमा त गाउन अरूले नसक्ला तर रचनाको स्वरमा पनि राम्रो सुनिएको छ । जुनसुकै गीत रिमेक गरेपछि सुरुमा गाउनेको क्रेडिट चाँही दिनुपर्छ मेरो विचारमा ।’
यस्तै थुप्रै गीतमा शब्द तथा संगीत भर्नुभएका सर्जक बादल घिमिरेले गीत अन्यले गाउन मिल्ने तर वास्तविक गायिका अञ्जु पन्तको नाम कहिँ कतै दिनुपर्ने तर्क राख्नुभयो । उहाँले भन्नुभयो, ‘अरूले गाउन नमिल्ने होइन । तर रिमेक गरिसकेपछि सुरुमा कसले गाएको हो, उहाँको नाम हुनुपर्छ । भिडियोमा कहिँकतै अन्जु पन्तको नाम देखिएको छैन । त्यो चाहिँ नराम्रो हो जस्तो लाग्छ ।’
उक्त गीतका गीतकार किरणले किड्स भर्सनसँगै अन्य २/४ वटा भाषामा अनुवाद गरेरसमेत गीत ल्याउने योजना रहेको बताउनु भएको छ । उहाँले यसो गर्दै गर्दा आफूले विभिन्न भर्सन ल्याउने बजारको टे«ण्डलाई ‘फ्लो’ भने नगरेको बताउनु हुन्छ । उहाँले त्यतिबेला अर्कैतिर बगिरहेको नेपाली गीतसंगीतको ट्रेण्डलाई ‘नबिर्सें तिमीलाई’ ल्याएर सुगम संगीतमा ढालेको बताउनुहुन्छ । । उहाँले यसलाई ३-४ वटा भाषामा अनुवाद गरेर सार्वजनिक गरेसँगै फेरि एकचरण नेपालका विभिन्न भाषामा गीत ल्याउने ट्रेण्ड पनि सुरु हुनसक्ने बताउनुभएको छ ।
यस्तै चर्चित गीतकार राजेन्द्र थापाले अन्जु पन्तको प्रसंग ल्याएर रचनालाई अबमूल्यन गर्नु भनेको आफ्नै संस्कारको बेज्जत गर्नु हो भन्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ । ‘अञ्जु पन्त दुईटा छैन । तर अञ्जुलाई पुजा गर्नेले नयाँ किशोरी रचना रिमालमाथि जुन किसिमबाट अपमानजनक कमेन्ट गरिरहेका छन् । त्यसले संस्कार र मर्यादाको दुःखद् स्थिति देखापर्नु चिन्ताजनक हो । उत्पादकले पारिश्रमिक दिएर नयाँ भर्सनमा गाउन लगाएकाले गाउनु अग्रज अञ्जुप्रति सम्मान हो, गुरु मानेर पछ्याउनु हो’, उहाँले लेख्नुभएको छ, ‘सुनेर मन पर्ने नपर्ने नि आफ्नो इच्छा हो । तर अञ्जुको प्रसंग ल्याएर रचनालाई अबमूल्यन गर्नु भनेको आफ्नै संस्कारको बेज्जत गर्नु हो । अझ झन् ठूलो बेज्जत हो आफ्नो, अञ्जुको गायनको उच्चता र लोकप्रियताको प्रसंगमा उसको धर्मप्रतिको निजी आस्थालाई मुद्दा बनाउनु ।’
यस्तै उहाँले भर्जन र कभर फरक भएको भन्दै अघि लेख्नुहुन्छ, ‘रचनाले अञ्जुकै कपी गरेर गाए कभर हुन्छ तर आफ्नै शैली र भोकल एटिच्युडको उपयोग गर्नैका लागि भर्सन भनिएको हो । भर्जन र कभरको एक फरक हो । भर्जन निकाल्न गीतकार संगीतकार को स्वीकृति र पारिश्रमिकको सेटल हुनुपर्छ उत्पादकसंग । उत्पादकको अधिकारको भने वर्ष सीमा हुन्छ ।’




















