कोभिड विरुद्धको आन्दोलन अराजक बन्दै गैइरहेको भन्दै क्यानाडामा आपत्काल घोषणा।

मोन्ट्रेल:= कोभिड खोपविरुद्ध सरकारले ल्याएको प्रावधानको विरोधमा विगत एक सातादेखि प्रदर्शनमा उत्रिएका ट्रक चालकहरूको आन्दोलन अराजक बन्दै गएपछि क्यानाडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । शहर ‘पूर्णरूपमा नियन्त्रणबाहिर’ गएको भन्दै ओटावाका मेयर जिम वाटसनले आपत्काल घोषणा गर्नुभएको हो ।

कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने लगायतका कतिपय प्रतिबन्धात्मक व्यवस्थाकाविरुद्धमा ट्रक चालकहरूले केही दिनदेखि राजधानी केन्द्रित आन्दोलन गर्दै आएका छन् । आन्दोलनकारी ट्रक चालकहरूले निरन्तर हर्न र साइरन बजाउने र पटाका पड्काउनेलगायत क्रियाकलाप गरेर शहरवासीलाई आजित बनाएको मेयर वाटसनले दाबी गर्नुभएको छ ।

चालकहरूले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गर्दा यातायात सेवा नै अस्तव्यस्त भएर नगरवासीलाई समस्या भएको छ । साथै आपत्कालीन सेवासमेत अवरुद्ध भएको उहाँको भनाइ छ । उहाँले संकटकालको नियम नमान्ने र शहरमा अशान्ति मच्चाउनेलाई प्रहरीले गिरफ्तार गर्ने र कानुनी कारबाही गर्ने चेतावनी पनि दिनुभएको छ । यता क्यानडामा हजारौं मानिसले पनि खोप अनिवार्य बनाउने र कोभिड प्रतिबन्ध जस्ता सरकारी आदेशका विरुद्ध प्रदर्शन गरिरहेका छन् ।

क्यानडाका विभिन्न शहरमा मानिसले र्‍याली निकालेर सडक अवरुद्ध गरिरहेका हुन् । यी प्रदर्शन शान्तिपूर्ण भए पनि प्रदर्शनकारीको संख्या अत्यधिक छ । क्यानडाका ठूला शहरहरू टोरन्टो, क्युबेक सिटी, फ्रेडरिक्टन र विनिपेगमा सयौं प्रदर्शनकारीहरू भेला भएर प्रदर्शन गरेका छन् ।