काठमाडौं:= कोरोना कहरका कारण केही समयदेखि बन्द नेपाली सिनेमा हल फागुन १ गतेदेखि खोल्ने सरकारको निर्णयसँगै नेपाली निर्माताहरू प्रदर्शन मिति तोक्न तमतयार भएका छन् ।
प्रशासनको निर्णयसँगै रिलिज भएर पनि प्रदर्शन रोकिएको चलचित्र ‘चपली हाइट ३’ फेरि सिनेमा हलमा प्रदर्शन हुनेभएको छ । अब यो चलचित्र फागुन १ गतेदेखि फेरि प्रदर्शनमा आउनेछ। पटक-पटक रिजिज मिति सार्दै आएका निर्माता अर्जुन कुमारले पुस ३० मै चलचित्र रिलिज गर्ने आँट गर्नुभएको थियो । तर रिलिज भएको तेस्रो दिनमै सरकारले फिल्म हल बन्द गर्ने निर्णय गर्यो । जसकारण चलचित्र रिलिज हुन नपाउँदा निकै घाटा लागेको उहाँले सुनाउनु भयो ।
फेरि पनि अर्जुन कुमार केही आशा बोकेर चलचित्र रिलिजको तयारीमा हुनुहुन्छ । उहाँले भन्नुभएको छ, ‘म पटकपटक मारमा परेको छ । यस पटकको मौकालाई दर्शकले साथ दिनुहुनेछ भन्ने आशा छ ।’ फागुन १ गते कुनै पनि विदेशी तथा अन्य नेपाली चलचित्रहरू लाइन अपमा छैनन् । बरू फागुन १३ गते भने ‘लप्पन छप्पन २’ रिलिज हुने तय भएको छ ।
‘सस्पेन्स थ्रिलर’ कथामा निर्माण भएको यस चलचित्रलाई निकेश खड्काले निर्देशन गर्नुभएको हो । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतको अभिनय रहेको छ ।




















