[ डिबी शर्मा ]
काठमाडौं:= राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा एकता महाधिवेशनदेखि सुरु भएको आन्तरिक कलह ‘वारपार’को स्थितिमा पुगेको छ । निवर्तमान अध्यक्ष कमल थापाले उठाउँदै आउनुभएको विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा छलफल नगर्ने बताएपछि पार्टी विभाजनको सँघारमा पुगेको हो । आफूले राखेका मागमा अध्यक्ष लिङ्देनले कुनै सुनुवाइ नगरेपछि थापाको असन्तुष्टि थप बढेको छ । आफू निकटका नेताहरूसँग छलफलमा रहनुभएका थापा अब पनि माग सुनुवाइ नभए नयाँ दल दर्ता गर्नेतर्फ अघि बढ्नुभएको छ । दुई/दुईपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएपछि थापा विकल्पको खोजीमा लाग्नुभएको हो ।
थापाले गत मंसिरमा सम्पन्न एकता महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपका कारण आफू पराजित भएको दाबी गर्दै छानबिनको माग गर्दै आउनुभएको छ । तर, अध्यक्ष लिङ्देनले भने अहिलेसम्म थापाले माग गरेको विषयमा सुनुवाइ गर्नुभएको छैन । थापाले यसबारे दुईपटक अध्यक्ष लिङ्देनको लिखित ध्यानाकर्षणसमेत गराइसक्नु भएको छ । मंसिर २७ मा पहिलो पत्र लेख्नुभएका थापाले माघ १६ गते दोस्रो पत्र लेखेर ध्यानाकर्षण गराउनुभएको थियो ।
धुम्बाराहीमा थापा समूहको भेला
संस्थापन पक्षसँग असन्तुष्ट निवर्तमान अध्यक्ष कमल थापाले सोमबार आफू पक्षीय नेताहरूसँग छुट्टै छलफल गर्नुभएको छ । नवदुर्गा पार्टी प्यालेस धुम्बाराहीमा थापाले आफू पक्षीय नेताहरूसँग छलफल गर्नुभएको हो । भेलामा निवर्तमान अध्यक्ष थापाले पार्टीभित्र आफ्नो मागको विषयमा सुनुवाइ नभएको विषयमा ब्रिफिङ गर्नुभएको नेताहरूले बताएका छन् । थापाले आफूले अघि सारेका माग पूरा नभए नयाँ पार्टी दर्ता गर्ने चेतावनी दिएको बैठकमा सहभागी एक नेताले बताउनुभयो । उहाँका अनुसार थापाले माग सम्बोधनका लागि अल्टिमेटमसमेत दिनुभएको छ । उहाँले चुनावपछि निरीह र लाचार भएर बस्नुको विकल्प नहुने भन्दै त्यसपहिले नै समस्याको समाधान गर्नुपर्ने बताउनुभएको थियो ।
‘सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नुअघि (सोमबार सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ) सैद्धान्तिक, संगठनात्मक र व्यावहारिक विषयमा उठाइएका प्रश्न निराकरण हुँदैन भने हामीले विकल्प खोज्न बाध्य हुनेछौँ,’ थापाको भनाइ उद्धृत गर्दै ती नेताले भन्नुभयो, ‘म आफ्नो हिसाबले अगाडि बढ्नुपर्ने अवस्था आउनेछ । तपाईंहरूलाई कुनै दबाब दिँदैन, आफ्नो हिसाबले निर्णय गरेर सहयोग गर्नुपर्छ ।’
नेतृत्वले आफ्नो कुरा नसुनी अघि बढिरहेको खण्डमा पार्टीलाई दुर्घटनाबाट रोक्न नसकिने परिस्थति निर्माण हुँदै गएको थापाको भनाइ थियो । भेलामा काठमाडौंमा उपलब्ध थापा समूहका सबै नेताहरूको उपस्थिति रहेको थियो । तर, थापा समूहका नेता एवं उपाध्यक्ष बुद्धिमान तामाङले भने थापाले अध्यक्ष लिङ्देनलाई लेखेको पत्रका विषयमा आन्तरिक छलफल गर्नका लागि भेलाको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार माग सुनुवाइ नभएको अवस्थामा अब के गर्ने भन्ने विषयमा भेलामा छलफल भएको थियो । ‘अहिले नै नयाँ पार्टी खोल्ने भन्ने विषयभन्दा पनि चिठीका विषयमा कसरी अघि बढ्ने भन्ने एजेण्डामा छलफल भएको हो,’ थापा समूहका नेतासमेत रहनुभएका तामाङले भन्नुभयो, ‘के गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौँ ।’
विभाजनको पक्षमा नरहेको नेताहरूको दाबी
राप्रपाका उपाध्यक्ष धु्रवबहादुर प्रधानले निवर्तमान अध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दाबी गर्नुभएको छ । थापा समूहको भेलामा सहभागी हुनुभएका प्रधानले उहाँ (थापा) पार्टी एकताकै पक्षमा रहेको दाबी गर्नुभयो । प्रधानले महाधिवेशनले दिएको जिम्मेवारीलाई बहन गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूहरू प्रतिबद्ध रहेको पनि बताउनुभयो । त्यसका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको भूमिका सबैभन्दा बढी हुने उपाध्यक्ष प्रधानको भनाइ थियो । ‘उहाँ (कमल थापा)ले पार्टी फुटाउने सोच्नुभएको जस्तो मलाई लागेको छैन,’ प्रधानले भन्नुभयो, ‘महाधिवेशनले निर्वाचित गरेको हुनाले मेरो दायित्व पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो । त्यो दायित्व निर्वाचित अध्यक्षको पनि हुन्छ । हामी पार्टी एकताको पक्षमा छौँ । एकताबद्ध भएर लैजाने प्रतिबद्धता व्यक्त गर्दछु ।’
त्यस्तै, महामन्त्री कुन्ती शाहीले पनि पार्टी विभाजनको पक्षमा पूर्व-अध्यक्ष थापा नरहेको बताउनुभयो । उहाँले पार्टी नेतृत्वले विगतमा पार्टीमा दुःख गरेका कुनै पनि नेता, कार्यकर्तालाई पार्टीभित्र समेटेर लैजानुपर्ने बताउनुभयो । ‘पार्टीका पूर्व–अध्यक्ष थापा पार्टीलाई पार्टी विभाजनको पक्षमा हुनुहुन्न । बरु उहाँले पार्टीलाई सशक्त बनाउन देशव्यापी अभियान चलाउने धारणा राख्नुभएको छ,’ शाहीले भन्नुभयो, ‘विगतमा पार्टीमा योगदान गरेका, दुःख गरेका सबै नेता, कार्यकर्तालाई समेटेर पार्टीमा विभाजन आउन नदिन पार्टी नेतृत्व बढी सचेत हुनुपर्छ ।’
थापाले पार्टी फुटाउने अभियान चलाएको संस्थापन पक्षको आरोप
राप्रपा संस्थापन पक्षले भने निवर्तमान अध्यक्ष थापाले पार्टी विभाजन गर्न खोजेको आरोप लगाएको छ । महाधिवेशनमा पराजित भएपछि पार्टी फुटाउन आफू पक्षीय नेताहरूसँग थापाले छलफल गरिरहेको संस्थापन पक्षको आरोप छ । ‘कमल थापाले पार्टीभित्र प्रतिस्पर्धा गर्नुभएको हो, आन्तरिक प्रतिस्पर्धामा हारेपछि विभिन्न बहाना निकालेर पार्टी फुटाउने अभियान चलाउन लाग्नुभएको देखिन्छ,’ संस्थापन पक्षका एक पदाधिकारीले भन्नुभयो, ‘उहाँ (थापा)का पछिल्ला गतिविधि पार्टी विभाजन गर्नेतर्फ देखिन्छन् ।’
अध्यक्ष लिङ्देन र पूर्व–अध्यक्ष कमल थापाबीच अधिवेशनयता एकपटक भेटघाट भए पनि कुनै समाधान भने निस्केन । एकता महाधिवेशनमा कार्यकर्ताहरूले कहिलेसम्म एकता महाधिवेशन भनिरहने ? भन्ने प्रश्नको जवाफ दिँदै कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले एकसाथ अब फेरि एकता महाधिवेशन गर्न नपर्ने गरी पार्टी मिलेको भन्दै गीतामा हात राखेर कसम खानुभएको थियो । तर, थापा समूहका पछिल्ला गतिविधिले महाधिवेशनमा खाएको कसम पनि तोडिने देखिएको छ ।




















